दशैं र तिहार बिदा मनाउने आन्तरिक पर्यटकको गन्तव्य ‘मनाङ’

शुक्रबार, कात्तिक २४, २०८०

मनाङ - पछिल्लो समय हिमाली जिल्ला मनाङ आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । बिदाको समय घुम्न मनाङ सहज हुँदै गएको छ । मनाङमा दसैँ र तिहार बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । उनी भन्छन् पछिल्लो समय मनाङ दशैं र तिहार बिदा मनाउने आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । 

नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दशैँको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ 

आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नभए पनि विगतमा भन्दा उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न आउन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ । 

पर्यटकको आवगमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायी खुसी भएका छन् । पर्यटक आवागमन वृद्धि हुँदा उनीहरुको आयस्तरसमेत वृद्धि हुनेछ । पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरताको अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ तथा पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा पर्छ । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्