Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा

शनिबार, कात्तिक ११, २०८०

झापा– पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।

मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गरे ।

मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ ।

सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए ।

यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीयस्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए । काँकडभिट्टाबाट झापाको पश्चिमी सिमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उनको भनाइ छ ।

पूर्वी नाका काँकडभिट्टाबाट आज बिहान ८ बजे सुरु भएको सो यात्रा आज सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए । –रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्