एकै परिवारका आमासहित ३ छोराछोरी मृतावस्थामा फेला

शुक्रबार, कात्तिक १०, २०८०

मुगु– मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित  मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक  छोरी मृतावस्थामा फेला परेका छन् । 

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका  छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे  घटनास्थलमा प्रहरी पुगेको बताए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका  गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । 

श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या गर्‍यो  खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ  थापाले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार  श्रीदेवी छोराछोरीसहित यही कात्तिक  ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन ।  यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ । 

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।  १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ  । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्