राष्ट्रपति पौडेल विवादमा

कुख्यात युवा रिगल डनको कहानीः यता घैंटे इन्काउन्टर, उता अदालतमा आत्मसमर्पण

सोमबार, असोज ८, २०८०

काठमाडौंसत्तारुढ नेपाली कांग्रेसका कतिपय सिफारिसले पार्टी पंक्ति र नेतालाई मात्र गिज्याएको छैन, राष्ट्रपति रामचन्द्र पौडेललाई पनि विवादमा तानेको छ। 

कांग्रेस तरुण दलका दुई जनाबारे अहिले सत्ताका आडमा भइरहेको संरक्षणका कारण विवाद चुलिएको हो।

नेपालगन्ज सहरमा दिनदहाडै खुडा प्रहार गरी व्यक्ति हत्यामा आजीवन काराबास सजाय पाएका योगराज ढकाल अर्थात रिगल डनलाई आममाफी दिनु कांग्रेसका लागि विवादको विषय बनिरहेको छ।

संविधान दिवसको अवसर पारी राष्ट्रपति रामचन्द्र पौडेलको अनुमोदनमा ६७० जनाले कैद माफी पाउँदा सुटुक्क रिगल डन पनि छिराइयो। 

जेलबाट निस्कदा अपराध कर्मबाट माफी पाएजस्तो नभएर महान राजनीतिक बन्दी मुक्त जसरी नै उसको स्वागत भएको थियो।

हप्ता असुलीसहितका क्रियाकलापमा संलग्न रिगल समूहले भारततिर जाने बसको टिकट तथा भन्सारबाट प्राप्त हुने कमिसनमा १० प्रतिशत हिस्सा लिने गरेको थियो।

२०७२ असार २८ गते चेतन मानन्धरको दिन दहाडै खुँडा प्रहार गरी हत्या गरेपछि रिगल समूहको चर्चा झनै भयो। काठमाडौंमा कुमार श्रेष्ठ घैँटेनजिक मानिएका रिगलले घैंटे इन्काउन्टर हुनासाथ २०७२ भदौ ७ गते जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका थिए।

न्यायाधीश विष्णु सुवेदीको इजलासले ०७५ वैशाख ११ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।  रिगलले ०७२ भदौ ५ मा आत्मसमर्पण गरेका मितिबाट कैद सुरु भएको मान्दा ०९२ भदौ ७ सम्म कैद कायम भएको थियो।

प्रहरीले इन्काउन्टरको शिलशिला चलाएको भन्ने सुइँको पाएपछि अदालतमा आत्मसमर्पण गरेका रिगल अहिले अवस्था साम्य भएको ठानेर कांग्रेसको पहलमा आममाफीमार्फत निस्किएका छन्, प्रहरी उच्च स्रोतले भन्यो,‘आचरणमा सुधार नआए अपराध कर्म गर्ने कोही बाँकी रहने छैनन्।

यसैबीच, तस्करीको एक किलो सुन ओसार्ने गाडी पत्तो लगाइएका तरुण दलका नेता विकास लामालाई प्रहरीले पक्राउ गरेको छैन।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं तस्करी भएको ९६० ग्राम सुन प्रकरणको अनुसन्धानमा लामाको संलग्नता देखिएको छ।

सुनसहित काभ्रे खानीखोला गाउँपालिका३ का २८ वर्षीय बाबुलाल दोङलाई पक्राउ गरेको थियो। दोङले ल्याएको सुन काभ्रेको महाभारत गाउँपालिकाकै विकास योञ्जन लामाको भएको खुलेको छ। भदौ २५ गते उक्त सुन बरामद गरिएको थियो।

सो प्रकरणमा जोडिएका अन्य दुईजना आरोपी काभ्रेको रोशी गाउँपालिका, घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका३ का ३६ वर्षीय मिङमा दोर्जे स्याङ्तानको बयानका आधारमा लामाको संलग्नताबारे खुले पनि प्रहरीले पक्राउ गरेको छैन।

काठमाडौं जिल्ला प्रहरी परिसर कार्यालयका उच्च अधिकारी अनुसार लामाको खोजी कार्य तिव्र पारिएको छ।

विकास लामाको बरामद भएको वाग्मती प्रदेश ०१२७ च ९९६० नम्बरको क्रेटा गाडीमा काभ्रे क्षेत्र नम्बरका प्रदेशसभा सदस्य तथा वाग्मती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले दिएको ६ लाख रुपैयाँको चेक समेत भेटिएको दाबी गरिएको थियो। तर लामाले यसमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिइसकेका छन्।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्