Nic Ad Nic Ad
Nic Ad Nic Ad
गैरीगाउँ हत्या प्रकरण

मोटरसाइकलले ठक्कर दिएकै निहुँमा गैरीगाउँमा ४ जनाको हत्या

आइतबार, भदौ ३१, २०८०

काठमाडौँ– शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी निज अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । 

उक्त घटनापछि खुकुरीसहित भागेका निज आरोपीलाई प्रहरीले सिसी टिभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा बताए । 

उनले भने, “बोल्न नसक्ने निज भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।”

चार जनाको हत्या गरेपछि आरोपी भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए र त्यहाँ उनको साथीको घर भएको तथा राति मूलगेट लगाएको बेला उनी रूखमा चढेर घरको कम्पाउन्डभित्र पुगेका थिए । तर त्यहाँ उनले साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिए । 

नवीनसँग मात्रै दुश्मनी भए पनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जन्मजात बोल्न नसक्ने हत्या आरोपी भण्डारीको प्रहरीले दोभाषेको सहयोगमा बयान लिइएको जनाइएको छ । शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी पत्नी अम्बिका भुजेल र उनकी आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।

भिडिओ हेर्नुहोस्

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्