बाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?

आइतबार, भदौ ३१, २०८०

काठमाडौ - असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ।

कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

दुई महिनाको अवधिमा अधिकांश बैंकहरुको ब्याजदर बढेको छ ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकले १.०६४ प्रतिशत बिन्दु ब्याजदर बढाएको छ । हिमालयनको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत छ ।

यस्तै, तीनवटा बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११.०५ प्रतिशत ब्याजदर तोकेका छन् । तर यता, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केहीँ ब्याजदर घटाएर १०.५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकहरुले १० प्रतिशतदेखि १०.९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

भदौका लागि ९.९९ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले असोजका लागि १० प्रतिशत ब्याजदर तोेकेको छ भने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भदौ महिनाकै निरन्तरता ९.९९ प्रतिशत नै ब्याजदर तोकेका छन् ।

यस्तै सानिमा बैंकले ९.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२९ प्रतिशत र नेपाल बैंकले ९.२५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १०.९० प्रतिशत, ९.९९ प्रतिशत, ८.९२ प्रतिशत र १०.९० प्रतिशत ब्याजदर तोकेका थिए ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन्।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्