सुन तस्करी प्रकरण

एआईजी बज्राचार्यको शरणमा कृष्णबहादुर महरा पुत्र!

मंगलबार, भदौ १२, २०८०

काठमाडौं सुन तस्करी प्रकरणमा प्रहरी प्रधान कार्यालयले नयाँ समिति गठन गर्नासाथ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा परिवारमा भूकम्प गएको छ।

महरा पुत्र राहुल महराले समिति संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यको शरणमा पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बज्राचार्यलाई फोन गरेर बयान दिनका लागि आउने तर पक्राउ नगर्न अनुनय बिनय गरेको उच्च स्रोतको दाबी छ। 

राहुल विद्युतीय चुरोट (भेप) मा राखेर ल्याइएको नौ किलोग्राम सुन काण्डमा संलग्न भएको पुष्टि भएपछि बयानका लागि सीआईबी कार्यालय जाने भएका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको उल्लेख छ। आरोपमा कल डिटेल रेकर्डसमेत संलग्न गरिएको छ। प्रहरीले सोधपुछ नगरेको भन्दै सर्वत्र आलोचना बढेपछि राहुल बयानको लागि जान लागेका हुन्।

स्रोतले भन्यो,‘बयानका लागि आउने कुरा छ। आएनन् भने पक्राउ गरी प्रक्रिया बढाइनेछ। कृष्णबहादुर महरा आफैं भने जाने या नजाने भन्ने अहिलेसम्म खुलेको छैन।

यस प्रकरणमा माओवादीका अन्य नेताको पनि संलग्नता हुन सक्नेतिर सीआईबीले अनुसन्धान जारी राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि मात्र महरा बयानका लागि जाने खुलाएका थिए।

महराले पनि दाङमा पत्रकार सम्मेलन गरी आफूलाई नबोलाएका कारण बयानमा नगएको बताएका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्