नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्बकाे काराेबार

मंगलबार, साउन १६, २०८०

काठमाडौं - सोमबार सामान्य अंकले बढेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से २८.५९ अंकले घटेर दुई हजार ७७.५८ विन्दुमा झरेको छ।

आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः १.२७ प्रतिशत, १.३५ प्रतिशत र १.१४ प्रतिशतले घटेको छ।

यस दिन दुई सय ६२ कम्पनीका ६० लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९२ करोड ४४ लाखबराबरको कारोबार भएको छ। सोमबार एक अर्ब ८५ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

आज म्युचुअल फन्डबाहेक सबै उपसमूहमा गिरावट आएको छ। म्युचुअल फन्ड ०.३५ प्रतिशतले बढ्दा निर्जीवन बिमा समूह २.४७ प्रतिशत, फाइनान्स समूह २.४३ प्रतिशत र होटेल तथा पर्यटन समूह २.१६ प्रतिशतले घटेका छन्।

सुपर  मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.६० प्रतिशतले बढ्दा किसान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.५४ प्रतिशत गुमाएका छन्। हिमालयन लघुवित्तको सेयर मूल्य ५.५७ प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ५.२४ प्रतिशतले गिरावट आएको छ।

आज कारोबार रकमका आधारमा अपर तामाकोसी र शिवम् सिमेन्ट शीर्ष स्थानमा रहे। अपर तामाकोसीको ८ करोड ७४ लाख तथा शिवम् सिमेन्टको सात करोड नौ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्