वृद्धालाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुहारी र नातिनी पक्राउ

सोमबार, साउन १५, २०८०

धनुषा– ७५ वर्षीया वृद्धालाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनकै बुहारी र नातिनीलाई प्रहरीले पक्राउ गरेको छ । 

गणेशमान चारनाथ नगरपालिका–५ टडिया बस्ने ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा उनकै बुहारी र नातिनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार पक्राउ पर्नेहरुमा उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादव रहेका छन् । 

घरायसी बिबादका कारण ईन्दिला यादव र सुसिला यादवले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्