‘नेपाली चलचित्रमा गीत–सङ्गीत महत्त्वपूर्ण’  

मंगलबार, साउन २, २०८०

काठमाडौँ– नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीत–सङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीत–सङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्दै आएको छ । 

पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्रमा गीत–सङ्गीत झै कथावस्तुले चर्चा पाउन सकेन । 

प्रचारप्रसारको सशक्त माध्यम मानिए पनि केही समययता भने गीत–सङ्गीतमा उल्लेख लगानी भएको पाइँदैन । गीत–सङ्गीतमा गरिने लगानी अझै बढ्नु पर्ने सङ्गीतकार अर्जुन पोखरेलले बताए । “चलचित्रमा हुने गीत–सङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङ्ग्रहमा भने त्यो लागू छैन”, सङ्गीतकार पोखरेलले भने । 

निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो पचार नै गीतमार्फत हुने बताए । “चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलर लगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने । उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गरेका थिए ।

निर्देशक प्रदीप भट्टराई पनि गीत–सङ्गीतलाई महत्त्वका साथ चयन गर्छन् । उनी निर्देशित ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ को सफलताको श्रेय गीत–सङ्गीतलाई पनि जान्छ । उल्लेखित चलचित्रको सङ्गीत कर्ण प्रिय बनेका थिए । 

“हामीले कथाअनुसार नै गीत राख्ने गरेका छौँ । केही आफ्नै र केही बजारले निर्देशित गरेका गीत सङ्गीतलाई समेट्ने गरेका छौँ”, निर्देशक भट्टराईले भने । गीत–सङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफलसमेत भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीत–सङ्गीतको आवश्यकता देखिएको छैन । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार