चलचित्र ‘ऊनको स्वीटर’ घोषणा 

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र अनिल सुब्बाले अभिनय गर्ने तय
सोमबार, साउन १, २०८०

काठमाडौँ– कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडियो) निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) निर्माण गर्ने घोषणा गरेको छ ।

साङ्गीतिक चलचित्र झैँ ठूलो पर्दाको चलचित्रलाई समेत नवीन चौहानले निर्देशन गर्दै छन् । उनकै लेखन रहेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र अनिल सुब्बाले अभिनय गर्ने तय भएको छ । 

अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ लाई चलचित्रको स्वरूप दिन लागिएको निर्देशक चौहानले जानकारी दिए । उनले भने, “अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । ममाथि अभिभारा थपिएको छ । राम्रो र फरक चलचित्र बनाउन मेरो प्रयास रहनेछ ।”

अभिनेता कार्कीले यो चलचित्र सफल हुनेमा आफू आशावादी रहेको बताए । “यो समूहसँग बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । कामप्रति मलाई पूर्ण विश्वास छ । यो चलचित्रमा दर्शकले नयाँपन पाउनेमा विश्वस्त छु”, अभिनेता कार्कीले भने । 

अभिनेत्री मगरले आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् । उनले भनिन्, “मलाई भनिएको पात्र सुन्दा नै गज्जब छ । यो अभिनेत्रीको सपनासमेत हो । छायाङ्कनलाई लिएर म उत्साहित र तयार छु ।”

चलचित्रमा सुजन चापागाईं र झुमा लिम्बूको सङ्गीत, कृष्ण भण्डारीको सम्पादन, चिन्तनराज भण्डारीको छायाङ्कन, कोविद बज्रको पार्श्वसङ्गीत रहनेछ । यसको छायाङ्कन मङ्सिरदेखि सुरु गरिने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार