रौतहट प्रहरीले भन्यो : आमा–छोरीको मृत्युबारे अनुसन्धान जारी छ

शनिबार, असार १६, २०८०

चन्द्रपुर– रौतहटको मौलापुरमा गत शुक्रबार आमा-छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए । 

आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए । उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो । कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो । 

“बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन् । दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो”, साहको आरोप छ । 

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार