१२ वर्षीया बालिका बलात्कार मुद्दामा चार जनालाई १८ वर्षको कैद

मंगलबार, जेठ ३०, २०८०

ओखलढुङ्गा– बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्षको कैद फैसला भएको छ । 

१२ वर्षीया बालिकालाई बलात्कार गर्ने चार जनालाई ओखलढुङ्गा जिल्ला अदालतले  आज १८ वर्षको कैद फैसला गरेको हो ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको इजलासले सिद्धिचरण नगरपालिका–३ का ३० वर्षीय डम्बरबहादुर भुल, ३७ वर्षीय केबल भुजेल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल र सिद्धिचरण नगरपालिका–२ का नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४४ वर्षीय पूर्णप्रसाद फुयाललाई १८ वर्षको कैद फैसला गरेको हो । 

फुयाललाई एक लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजारका दरले क्षतिपूर्ति तोकिएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेस्तेदार नवीन खनालले जानकारी दिए । 

२०७९ जेठ ३० गते बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उनीहरुविरुद्ध जाहेरी दिएका थिए । जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरेर प्रहरीले गत २०७९ असार २३ गते बलात्कार आरोपमा मुद्दा चलाएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्