शोधनान्तर २ खर्ब १४ अर्ब बचतमा, चालु खाता घाटामै

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– चालु आर्थिक वर्षको सुरुमा शोधनान्तर स्थिति नोक्सानमा परेर नीति निर्मातालाई असिन पसिन बनाएको भएपनि अब भने ढुक्क हुन मिल्ने गरी बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार नेपालको शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तो बचत चालु आर्थिक वर्षको १० महिना (बैशाख) सम्मको तथ्यांकले देखाएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

सरकारको चालु खाता भने घाटामा नै देखिएको छ । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा नेपालको चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ बराबर मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

२०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी (इसिफ) अन्तर्गत दोस्रो किस्ता वापतको ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्