२३ प्रतिशतले बढ्यो रेमिटान्स, १० महिनामा आयो १० खर्ब

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– विदेशमा काम गरेका नेपालीले नेपालमा पठाउने रकम (रेमिटान्स) निकै बढेको छ । चालु आर्थिक वर्षको १० महिना (बैशाख) सम्ममा १० खर्ब रुपैयाँभन्दा बढीको रेमिटान्स नेपालमा आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिटान्स आएको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधि (१० महिना नै) को तुलनमा २३.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो । यसपालि अमेरिकी डलरको विनिमय दर बढेका कारण पनि नेपाली रुपैयाम रेमिटान्स आएको रकम धेरै देखिएको हो ।

विदेश जाने पाली ५१ प्रतिशतले बढे

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । विश्व महामारी कोभिडको कारण केही वर्षदेखि रोकिएको बैदेशिक रोजगारी खुल्ला गत वर्ष धेरै बढेको तथ्यांक देखिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्