यी २ प्रधानमन्त्री जसले पहिलो भ्रमण भारतको गर्ने परम्परा तोडे

बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गतेदेखि २० सम्म दक्षिणी छिमेकी देश भारतको भ्रमण गर्ने भएका छन् ।

नेपाली प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण भारतको गर्ने परम्परा छ ।  सोही अनुरुप उनले भारतको भ्रमण गर्ने भएका हुन् ।

यद्यपि, ०६५ मा गणतन्त्र आएपछि केही प्रधानमन्त्रीले परम्परा तोड्दै भारत नभइ अन्य देशको पहिलो भ्रमण गरेका थिए । गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री बनेका माओवादीका अध्यक्ष प्रचण्डले ०६५ मा पहिलो भ्रमण उत्तरको छिकेकी देश चीनको गरे । सो बेला उनी प्रधानमन्त्री बनेलगत्तै बेइजिङ ओलम्पिकको उद्घाटन थियो । त्यो समारोहका भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यहाँ गए । तर, फर्किएलगत्तै उनले स्पष्टीकरण दिए– चीन भ्रमण औपचारिक नभएर विशेष परिस्थितिमा भएको थियो । मेरो पहिलो भ्रमण त भारतकै हुन्छ ।

उनीसँग भारत रिसाएकाले फकाउन प्रचण्डले यसो भनेको विश्लेषण गरियो । पछि उनले भारतको औपचारिक भ्रमण गरे । त्यसपछि यो प्रकरण त्यसै सेलायो ।

०६७ मा प्रधानमन्त्री बनेका तत्कालीन एमालेका नेता झलनाथ खनालले भने साच्चै परम्परा तोडे । उनी भारतले पनि थाहा नपाइ प्रचण्डको सहयोगमा प्रधानमन्त्री बनेका थिए । यसले गर्दा उनलाई भारतले निम्तो नै दिएन । यसर्थ, उनले कम्बोडियाको पहिलो भ्रमण गरे ।

नेपाल–भारत सीमा नक्सामा हस्ताक्षर गर्न आफूले नमानेका कारण भारतले आफ्नो भ्रमण रोकेको खनालको भनाइ छ ।

‘त्यतिबेला नेपाल–भारत सीमा नक्सामा हस्ताक्षर गर्न मानिनँ । त्यसपछि भारतले नै भ्रमणको तयारी रोक्यो,’ उनले त्यो बेला स्पष्टीकरण दिएका थिए । 

खनाल प्रधानमन्त्रीको कुर्सीमा ७ महिनाभन्दा बढी टिक्न सकेनन् । भारत रिसाएकै कारण यस्तो भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार