सन्देश शर्माले २ करोड दिएँ भनेकी ‘आरडी दिदी’ को हुन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा अब को–को तानिँदै छन् ?
सोमबार, जेठ १, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोषी ठहर गरेर पक्राउ गरेका सन्देश शर्माको डायरीमा उल्लेख भएको एक प्रसंगले कांग्रेस बृत्तमा धेरै चर्चा पाएको छ ।

एमाले विद्यार्थी संगठन अनेरा स्ववियुको राजनीतिमा पनि संलग्न रहेका दाङको तुलसीपुर उपमहानगरपालिका १६ का ३३ बर्षीय शर्माले ‘आरडी दिदी’लाई २ करोड रुपैयाँ दिएको उनको डायरीमा उल्लेख छ । 

सो डायरीमा उल्लेख गरिएको आरडी दिदी को हुन् भन्ने चर्चा कांग्रेस बृत्तमा छ । कतिपयले आरडी भनेको कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा कांग्रेस सांसद डा. आरजु देउवा हुन् भन्दै उनी पनि यो प्रकरणमा संलग्न रहेको अनुमान गरिरहेका छन् । तर, आरडी दिदी भनेको ‘आरजु देउवा दिदी’ नै हुन् भन्ने पनि पुष्टी हुन सकेको छैन ।

अभियुक्त शर्माले प्रहरीलाई दिएको बयानमा पनि डा. आरजु देउवा राणाको नाम लिएको प्रहरी स्रोतले बतायो । तर, यो प्रकरणमा डा. देउवाको संलग्नताको प्रमाण फेला नपरेको स्रोतको दाबी छ ।

‘यो प्रकरणको अनुसन्धान जारी छ । अहिलेले नै टुंगिएको होइन । तर, अहिलेसम्मको अनुसन्धानले आरजु देउवाको संलग्नता देखाएको छैन भने मञ्जु खाँडको संलग्ता पुष्टी भएको छ,’ प्रहरी स्रोतले भन्यो । 

यस्तै, सोही प्रकरणमा पक्राउ परेका अभियुक्त सानु भण्डारी र मञ्जु खाँणबीच भेटघाट भएको समेत पुष्टी भएको प्रहरी स्रोतले बतायो । मञ्जु खाँणलाई अभियुक्त सन्देश शर्माले नगद नै दिएको बयान प्रहरीमा दिएका स्रोतको दाबी छ । 

अब को को तानिदै छन् ?

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार अब यो प्रकरणमा माथिल्लो तहका अधिकारी वा ठुला नेता जोडिने सम्भावना कम छ । तर, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण भने यो प्रकरणमा जोडिएका पाइएको स्रोतले दाबी गरेको छ ।

‘बाँदल र मञ्जु (खाँण) पक्राउ नपर्न पनि सक्ने अवस्था छ तर उनीहरु विरुद्ध पनि मुद्दा जान्छ । उनीहरु यो प्रकरणमा प्रत्येक्ष संलग्न रहेको पाइएको छ,’ स्रोतले भन्यो ।

सो प्रकरणमा दोषी पाइएको भन्दै प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई गत साता पक्राउ गरेको छ । यस्तै, पहिला नै पक्राउ पुँजी जारी भएपछि ११ दिनदेखि फरार रहेको एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझीलाई प्रहरीले बैशाख ३१ गते काठमाडौँबाट पक्राउ गरेको छ ।

यस्तै, रायामाझीका छोरा सन्दीप रायामाझी पनि पक्राउ परेका छन् । प्रहरीले पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकलाई पनि सो प्रकरणमा मुछिएका भन्दै खोजी गरिरहेको छ । उनी फरार छन् । तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि सो प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ । 

सोही प्रकरणमा संलग्न भनिएका सन्देश शर्मा, सानु भण्डारी, केशब दुलाललगायतलाई प्रहीरीले पक्राउ गरिसकेको छ । यस्तै, तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. राईका छोरा निरज राई विरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी अहिले फरार छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्