युवक हत्या घटना : ४ आरोपी पक्राउ

सोमबार, जेठ १, २०८०

सप्तरी– जिल्लाको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । 

पूर्व–पश्चिम राजमार्गस्थित सडक किनारको खेतमा तफेजुलको हत्या भएको अवस्थामा आज शव फेला परेको हो । मृतकको शरीरमा नीलडाम र घिसारिएको चोट र दाग रहेको छ । शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

हत्याको कारण र आरोपितको पहिचान हुन नसकेको तथा अनुसन्धान भइरहेको प्रनाउ सिंहले बताए । धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाको तालिम प्राप्त कुकुरले घटनास्थलमा अनुसन्धान गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्