अब प्रदेशमै निजामती कर्मचारीको व्यक्तिगत अभिलेख राखिने

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ– प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ । 

राष्ट्रिय किताबखाना (निजामती) र बागमती प्रदेश सरकारबीच आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारीअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।

सङ्घीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्त्वपूर्ण विषयका रूपमा थाँती रहेको प्रदेश किताबखानाको अवधारणाले अब मूर्तरूप पाउने राष्ट्रिय किताबखाना (निजामती)का प्रमुख तथा महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौँ कर्मचारीको विवरण पनि अब अद्यावधिक हुने भएको छ । 

उक्त समझदारीपत्र आदानप्रदान कार्यक्रममा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले सङ्घीयता कार्यान्वयनको एक चरण पूरा भएको बताए । उनले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पूरा गरिँदै जाने जानकारी दिए । 

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश व्यक्तिगत अभिलेख प्रभावकारी ढङ्गले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक डा पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका थिए ।

हाल निजामती सेवामा कम्तीमा पनि ९० हजार कर्मचारी कार्यरत रहेको जनाइएको छ । तीमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका झण्डै २५ हजार कर्मचारी रहेका छन् । राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डेका अनुसार अब क्रमशः सबै प्रदेशलाई प्रदेश ‘पिआइएस पोर्टल’ हस्तान्तरण गरिनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्