मेसी २ साताका लागि निलम्बनमा 

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ– अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेसी निलम्बनमा परेका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले उनलाई २ साताका लागि निलम्बन गरेको हो ।  

अनुमतिविना साउदी अरेबियाको भ्रमण गरेको भन्दै मेसीलाई निलम्बन गरिएको उनी आबद्ध क्लब पिएसजीले जनाएको छ ।

लिग वानमा शीर्ष स्थानमा रहेको पिएसजीले पछिल्लो खेलमा घरेलु मैदानमा आइतबार लोरेन्टलाई नतिजा सुम्पिएको थियो । सो खेलपछि मेसी साउदी अरेबिया पुगेका थिए । तर त्यसका लागि उनले क्लबसँग अनुमति नलिएको बताइएको छ ।

मेसी साउदी अरेबियाका पर्यटन सद्भावना दूत हुन् । निलम्बनमा परेसँगै मेसीले आइतबार ट्रोयसविरुद्धको र मे १३ मा एसी अजासियोविरुद्धका खेल गुमाउने भएका छन् ।

यो अवधिका उनले क्लबमा प्रशिक्षणसमेत गर्न पाउने छैनन् । 


 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्