उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । 

आइतबार सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताएका हुन् ।  

कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने र यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको उनको भनाइ छ । 

‘नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको छ । प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै हो’ प्रधानमन्त्रीले भने, ‘आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ । वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ । तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो । यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ ।’

४ महिनामा निकै राम्रा काम भएको उनको भनाइ छ । ‘लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको वञ्चिति उत्साहवद्र्धक रूपमा बढेको छ । पर्यटक आउने क्रममा सुधार आएको छ’, प्रधानमन्त्रीले भने । लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।  

भेटमा ६ वटा किसान संगठन आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेस गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्