नेभिगेशन
अर्थ विविध

उद्योगी प्रतापजंग पाण्डेले थुन्नु पर्‍याे भनेका १० जना ‘पावर ब्रोकर’ को हुन् ?

काठमाडौँ– युवा उद्यमी प्रतापजंग पाण्डेले १० जना पावर ब्रोकरलाई थुन्न आग्रह गरेका छन् ।

शनिवार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पाण्डेले भ्रष्टाचार नियन्त्रणको लागि पावर ब्रोकरलाई थुन्न आवश्यक रहेको आसय व्यक्त गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रण गर्ने हो भने पावर ब्रोकरलाई थुन्न आवश्यक भएको बताएका छन् ।

‘नेपालमा साच्चिकै भ्रष्टाचार नियन्त्रण गर्ने हो भने १० वटा पावर ब्रोकरलाई थुन्नुस्, ८० प्रतिशत आफै नियन्त्रण हुन्छ,’ पाण्डेले लेखेका छन् ।

युवा उद्यमी पाण्डे एभिएसन, बैंकिङ, सिमेन्टलगायतका उद्यम व्यवसायमा संलग्न छन् । उनको परिवार नै उद्यमी परिवार हो । उनका बाबु प्रदिपजंग पाण्डे निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष पनि हुन् । उनका दाजु प्रवलजंग पाण्डे पनि विभिन्न उद्यम व्यवसायमा संलग्न छन् ।

युवा व्यवसायी पाण्डेले उठाएको पावर ब्रोकरको प्रसंग धेरै जना व्यवसायीको टाउको दुखाइको विषय हो । व्यवसायीहरु नयाँ कम्पनीको लाइसेन्स लिनदेखि कर विवाद र अन्य व्यवसायिक विवादको लागि पावर ब्रोकरको आवश्यकता परेको बताइरहेका छन् । यही सन्दर्भमा पाण्डेले पावर ब्रोकरको प्रसंग उठाएका हुन् ।

के हो पावर ब्रोकर ?

इन्भेष्टोपेडियाका अनुसार पावर ब्रोकर एक व्यक्ति हो, जसले विभिन्न पक्षहरुको निर्णयलाई प्रभाव पार्न सक्छ । पावर ब्रोकरले विभिन्न प्रकारको सम्पर्क र सम्बन्धहरु स्थापित गरेर आफूले जिम्मा लिएको काम फत्ते गराउने गर्छन् ।

पावर ब्रोकर सामान्यतया एक उद्योगको भित्री व्यक्ति हो, जो अन्य महत्त्वपूर्ण व्यक्ति र समूहहरूसँग परिचित हुन्छ । उसले निर्णय गर्ने व्यक्तिहरुलाई विभिन्न नेटवर्कहरू प्रयोग गरेर, तिनीहरू प्रभाव पार्न वा निर्णयहरू गर्न सक्षम हुन्छ ।

पावर ब्रोकरहरू सार्वजनिक व्यक्तित्वहरू पनि हुन सक्छन्, जस्तै निर्वाचित पदाधिकारीहरु वा प्रख्यात व्यापारी नेताहरू, जसले कुनै विशेष मुद्दामा सार्वजनिक अडान लिनुको सट्टा आफ्नो सम्बन्धहरुलाई सूक्ष्म रूपमा आफ्नो काम फत्ते गराउन प्रयोग गर्छन् ।

नेपालको पावर ब्रोकरहरु को को हुन् ?

उद्योगी पाण्डेले सार्वजनिक रुपमै पावर ब्रोकरको बारेमा मुख खोलेका छन् । नेपालमा नयाँ पुनर्बीमा कम्पनी, लघु बीमाको लाइसेन्सदेखि नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि पावर ब्रोकरले काम गरेको भन्ने सन्दर्भमा संचार माध्यमहरुमा पनि सार्वजनिक भएको छ । त्यसमा केही व्यक्तिहरुको नामै किटान गर्ने पनि गरिएको छ ।

यस्तै, उद्योगी व्यवसायीको कर विवाद मिलाउन वा ठेक्कापट्टाको प्रबन्ध गर्न पनि पावर ब्रोकरहरु सक्रिय रहने गरेको बताइएको छ । तर, यस्ता पावर ब्रोकरको बारेमा उद्योगी व्यवसायीहरुले सार्वजनिक रुपमा अहिलेसम्म केही बताएका थिएनन् । र, सरकारले पनि पावर ब्रोकर भनिनेहरुमाथि कुनै प्रकारको एक्सन लिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध