नेभिगेशन
अर्थ विविध

अर्थतन्त्रको समस्या समाधानका लागि ऐक्यबद्धता

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले वर्तमान आर्थिक समस्या समाधानका लागि ऐक्यबद्धता जनाएका छन् । महासंघका नवनिर्वाचित कार्यसमितिलाई परिसंघका पदाधिकारीले बधाई दिँदै वर्तमान अवस्थामा एक भएर काम गर्नुपर्ने प्रतिबद्धता जनाएका हुन् ।

गएको शुक्रबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ र हेमराज ढकालसहित कार्यसमिति सदस्यहरूलाई स्वागत गरेका थिए । त्यस अवसरमा परिसंघ र महासंघका पदाधिकारीले विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरे ।

परिसंघका अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन–नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरू मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताए ।

एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त उनले प्रस्तुत गरे । उनले आउँदा दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  

महासंघका अध्यक्ष ढकालले पनि अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताए । उनले निजी क्षेत्रले संगठित रूपमा उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायसहित सरकारलाई सुझाव दिनुपर्ने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

आहा ! ढोरपाटन