नेभिगेशन
अर्थ विविध

अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्न महासंघ र परिसंघको ऐक्यवद्धता

काठमाडौँ– नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । 

परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गरेका हुन् ।

सो अवसरमा परिसंघ र महासंघले विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरु मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने उनको भनाइ छ । एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष अग्रवालले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयहरुलाई सरकारले गम्भिरता पूर्वक लिएको बताउँदै उनले समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायहरुसहित सरकारलाई सुझाउनुपर्ने धारणा राखे ।

परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारी रुपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपायहरु खोज्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष हेमराज ढकाल, परिसंघ गभर्निङ काउन्सिल सदस्य शिवरतन सारडा, योगेश्वरलाल श्रेष्ठलगायत उपस्थित थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

आहा ! ढोरपाटन