प्रधानमन्त्रीको विदेश भ्रमणः प्रचण्ड अरु देश नजाने, भारत नबोलाउने

‘भारतले वर्तमान सरकार र प्रधानमन्त्रीलाई कम महत्व दियो’
शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– प्रधानमन्त्रीको नियुक्त भएको ४ महिना बितिसके पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश यात्रा गर्न पाएका छैनन् ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाटै गर्ने अडान लिएका छन् । यसैकारण उनले अन्य देशको भ्रमणको मौका पनि गुमाए । तर, अहिलेसम्म भारतले औपचारिक रुपमा नबोलाएपछि उनको विदेशयात्रा हुन नसकेको हो ।

प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुने बताएका थिए । एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका थिए ।

त्यसयता प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुने बताउँदै आएका छन् । यस्तै, गत महिना भारत भ्रमणमा रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण छिट्टै हुने बताएकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाटै गर्न चाहेका कारण यसअघि पाएका विदेश भ्रमणका दुईटा मौका पनि गुमाएका छन् । पहिलो विदेश भ्रमण भारतबाटै गर्ने चाहनाका कारण प्रधानमन्त्री प्रचण्डले चीन र कतारको भ्रमण नगरेका हुन् ।

मार्च २८ देखि ३१ सम्म चीनको हेनान प्रान्तमा भएको बोआओ फोरममा ५० देशका २ हजारभन्दा बढी सहभागी भएका थिए । फोरममा सिंगापुरका प्रधानमन्त्री ली सिएन लोङ, मलेसियाका प्रधानमन्त्री दातुक सेरी अन्वर इब्राहिम, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेस, आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टलिना जोर्जिभा लगायतको उपस्थिति थियो । पहिलो विदेश भ्रमण भारतबाट गर्ने चाहना बमोजिम प्रधानमन्त्री प्रचण्डले सो फोरमको उपस्थिति गुमाएका हुन् ।

यस्तै, मार्च ५ देखि ९ सम्म कतारको दोहामा आयोजना भएको अतिकम विकसित मुलुक (एलडिसी)हरूको सम्मेलनमा पनि प्रधानमन्त्री प्रचण्ड गएनन् । सुरुमा उनी सो सम्मेलनमा सहभागी हुने बताइएको थियो । तर, अन्तिममा सो सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको साटो उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए ।

किन जुटेन भारत भ्रमणको मौका ?

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि गत फागुन १ गते भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका थिए । उनी कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृति लगायतका विषयमा हुने नेपाल–भारत सचिव स्तरीय बैठकमा सहभागी हुन नेपाल आएका थिए । यद्यपि, सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्ड सहित उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरेका थिए ।

सो भेटमा सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको अनौपचारिक निम्ता दिएका थिए । अनौपचारिक निम्ता दिए पनि औपचारिक निम्ता नपाएको प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान नपाएका हुन् ।

पूर्वराजदूत प्राध्यापक लोकराज बराल भारतले कम महत्व दिएका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन नसकेको बताउँछन् । उनी प्रधानमन्त्री प्रचण्ड र वर्तमान सरकारलाई नै भारतले कम महत्व दिएको विश्लेषण गर्छन् ।

‘नेपाल आएको समयमा भारतका विदेश सचिवले प्रधानमन्त्रीलाई अनौपचारिक निम्ता दिए तर औपचारिक निम्ता आएको देखिएन । भारतले वर्तमान सरकार र प्रधानमन्त्री प्रचण्डलाई खासै महत्व नदिएका कारण आवश्यक नदेखेर निम्ता नपठाएको हुनुपर्छ,’ भारतका लागि पूर्वराजदूतसमेत रहेका बरालले सिएन नेपालसँग भने ।

भारतले आवश्यक ठानेमा निम्ता आउन ढिलाइ नहुने गरेको उनको अनुभव छ ।

‘२०७४ को निर्वाचनपछि प्रधानमन्त्रीमा नियुक्ति नै नभइ तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले नेपाल आएर केपी ओलीलाई भारत भ्रमणको निम्तो दिएकी थिइन् । तर, अहिलेका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट नै गर्छु भनेर सार्वजनिक रूपमा दोहोर्याएरै भनिसके पनि भारतबाट निम्ता आएको देखिँदैन । यसैले अहिलेको सरकार र प्रधानमन्त्री प्रचण्डलाई भारतले कम महत्व दिएको स्पष्ट भयो,’ बरालले भने ।

उनले नेपालको तर्फबाट गृहकार्य भइरहेको भन्ने अभिव्यक्ति पनि अनावश्यक रहेको टिप्पणी गरे । नेपाल र नेपालीको लागि काम गर्ने हो भने भारतबाट निम्ता आए पनि नआए पनि वा भारत नगए पनि प्रधानमन्त्रीको लागि फरक नपर्ने उनको टिप्पणी छ ।

‘नेपालमा गृहकार्य भइरहेको भनेर भन्ने गरिएको छ । नेपालले मात्रै गृहकार्य गरेर भएन, दुवै देशले गर्नुपर्यो । फेरि नेपालले गृहकार्य गरिरहनुपर्ने पनि देखिँदैन । किनभने, हाम्रा सरोकारका विषयहरू स्पष्ट छन् । नेपालमै राम्रो काम गर्ने हो भने प्रधानमन्त्रीले भारतबाट कहिले निम्ता आउँला भनेर कुरेर बस्नु पर्दैन,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्