नेभिगेशन
अर्थ विविध

अर्थतन्त्रमा देखिएका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्छः अर्थमन्त्री डा. महत 

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । मुलुकको अर्थतन्त्रलाई गति दिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको पनि उनले दाबी गरे ।

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्वतहमा छलफल भइरहेको पनि दाबी गरेका छन् । सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहालीलाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको उनको भनाइ छ ।

अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधान गर्ने ठोस प्रतिवद्धता सरकारसँग रहेको दाबी गरे । अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै उनले समस्या समाधान गर्न केही समय लाग्ने बताए । अर्थतन्त्र सुधारको लागि सबैले धैर्य गर्न आवश्यक पर्ने भन्दै उनले सिथिल अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको उनको भनाइ छ ।

आफू अर्थमन्त्री भएर आएको एक महिना भएकाले भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्