दुई नाबालिका हत्या आरोपमा दुई नाबालिका नै पक्राउ

मंगलबार, चैत २८, २०७९

रुकुम (पूर्व)– जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुईजना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोही ठाउँका दुई नाबालिका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)की प्रहरी नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन् । 

उनका अनुसार रिना र कालिमाया चैत्रको २२ गते सिस्नो टिप्न भनी सोही ठाउँको सेराबाङ भन्ने ठाउँमा गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले खोज तलास गर्दा पनि उनीहरू भेटिएका थिएनन् । २३ गते बिहानै खोज तलास गर्दा उनीहरुको ध्याङरजुङ भीरमा शव फेला परेको थियो । शव फेला परेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा सात जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको थियो ।

उनीहरूको बयानको आधारमा पाँच जनालाई छोडिएको छ भने हत्यामा संलग्न दुई नाबालिकालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । ती दुई नाबालिकालाई २६ गते रुकुमकोट जिल्ला अदालतमा पेश गरेको र पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य जारी राखिएको छ । 

रिना र कालिमायालाई उनीहरूले लगाएको गहनाको कारण हत्या गरेको बयान पक्राउ परेका नाबालिकाले दिएका छन् । उनीहरूले लगाएको गहना लुटेर जङ्गलमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । रिना र कालिमाया दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार शव परीक्षण  गरी आफन्तलाई जिम्मा लगाइ सकिएको छ । -रासस

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्