डा. स्वर्णिम वाग्लेः ‘क्यान्डिडेट अफ दी इलेक्सन’, विश्व बैंकको सम्भावित भावी प्रमुख

ऋषिकेश शाहले जस्तो भोग्नु नपरोस् डा. स्वार्णिमले
बिहीबार, चैत २३, २०७९

वैशाख १० मा हुने उपनिर्वाचनको प्रमुख केन्द्र तनहु–१ भएको छ । जवकि अघिल्लो बिहीबार (चैत १६) भन्दा अघि चर्चा र चासोको केन्द्र चितवन–२ थियो ।

चितवन २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि चुनावी मैदानमा छन् । गत मंसिर १० मा भएको निर्वाचनमा लामिछाने नै यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको लागि निर्वाचित भएका थिए । नागरिकता विवादमा सर्वाेच्चको आदेशले लामिछानेको उपप्रधानमन्त्रीदेखि सांसद पदसम्म गएको थियो ।

सोही कारण चितवन २ मा पुनः निर्वाचन हुँदैछ । भारी मतान्तरले लामिछाने विजयी भएको सो क्षेत्रमा पुनः उनी नै उम्मेदवार बनेका छन् । कानुनी अल्झनपछि उनलाई मतदाताले कसरी लिएका छन् भन्ने प्रश्नको कारण चितवन २ चर्चाको केन्द्रमा थियो ।

चैत १६ यता चितवन २ या रवि लामिछाने यो निर्वाचनको ‘क्यान्डिडेट अफ दि इलेक्सन’ रहेनन् । जवकि मंसिर ४ को आम निर्वाचनमा रवि नै क्यान्डिडेट अफ दि इलेक्सन थिए । मंसिर ४ को आम निर्वाचनको चुनावी चर्चा, समाचार, टिप्पणी, विश्लेषण, समीक्षा, चियागफ, प्रतिक्रिया, यानत्यान सबैमा रवि नै थिए ।

मंसिर ४ मा रविले लिएको ठाउँ अहिले डा. स्वर्णिम वाग्लेले लिएका छन् । आफूलाई गर्भे कांग्रेसी बताएर डा. वाग्लेले चैत १६ गते कांग्रेस छोडेको घोषणा गरेका थिए । र, डा. वाग्ले अहिले रास्वपाको तर्फबाट उम्मेदवार बनेर तनहु १ बाट प्रतिनिधिसभा सदस्य बन्ने प्रयासमा छन् ।

किन छोडे कांग्रेस ?

डा. वाग्लेले गत चैत १६ गते नेपाली कांग्रेस छोडेको सार्वजनिक घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले कांग्रेस छोड्नुपर्ने कारण खुलाएका छन् ।

डा. वाग्लेले लेखेका छन्ः

वि.स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जन आन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें । विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर, पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ । 

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।

.........................................................

डा. वाग्लेले कांग्रेस छोडेपछि नेपालभित्र उनको सार्वजनिक परिचय थप फराकिलो भएको महसुस गरिएको छ । किनभने कांग्रेसमा रहदासम्म डा. वाग्लेलाई महामन्त्री गगन थापाको टीमका एक युवा अर्थशास्त्रीको रुपमा बढी चिनिन्थ्यो ।

को हुन् डा. वाग्ले ?

वि.स. २०३१ मा गण्डकी प्रदेशको गोरखामा जन्मेका डा. वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन् । विगत २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय डा. वाग्ले वि.स. २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए । त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्य रहेका वाग्लेले वि.स. २०७२ को महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए । नेपाल फर्कनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका वाग्ले हाल काठमाडौँ विश्वविद्यालयको सेनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइ.आइ.डी.एस.) का अध्यक्ष छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा वि.स. २०२७ देखि नै उनको परिवारको संलग्नता छ । वि.स. २०४२ को सत्याग्रहदेखि राजनीतिक रुपमा दीक्षित र २०४६ को जनआन्दोलनमा सहभागी भएका वाग्ले नेपाली कांग्रेसको पूर्व महासमिति सदस्य हुन् । वि.स. २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरुमा उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।

लण्डन स्कुल अफ इकनमिक्स (बेलायत) बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पी.एच.डी.) गरेका वाग्लेले उच्च माध्यमिक तहसम्मको अध्ययन बूढानीलकण्ठ स्कूलमा गरेका थिए । वि.स. २०४६ को एस.एल.सी. परीक्षामा उनी नेपालभर दोस्रो (बोर्ड सेकन्ड) भएका थिए ।

विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिमण्डलको मन्त्रीस्तरीय नेतृत्व लगायत दर्जनौं सम्मेलनहरुमा प्रमुख वक्ता वा विज्ञका रुपमा सहभागी हुँदा विश्वका राजनेता र प्राज्ञहरुसँग फराकिलो सम्बन्ध बनाएका डा. वाग्ले आफूले आर्जेको ज्ञान, अनुभव, प्रतिष्ठा र सामाजिक पूँजी नेपाल राष्ट्रकै सम्पत्तिका रुपमा अर्पण र उपयोग गर्ने भन्दै राजनीतिमा होमिएका छन् ।

वाग्लेले उठाएका दुःख र क्षितिजको बिम्ब

डा. वाग्लेले कांग्रेस छोडेर रास्वपाबाट चुनाव लड्ने सार्वजनिक भएपछि उनीमाथि विभिन्न प्रकारका लाञ्छनाहरु पनि लगाइएको छ । कतिपयले उनलाई अवसरवादीको संज्ञा पनि दिएका छन् । नेपाली कांग्रेसबाट प्रसंस्त लाभ लिएको र बढी फाइदा देखेपछि अहिले रास्वपा रोजेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

नेपाली मनोविज्ञानमा एउटा कुरा जवरजस्ती धसिएको छ– उद्यम व्यवसाय गर्नेहरु नाफाखोर भए, पढेलेखेका मान्छेहरु अवसरवादी भए । यो नेपाली मनमस्तिष्कमा बसेको नकारात्मक भाइरस हो । किनभने उद्यम व्यवसाय गर्नेले नाफा नखोजे के खोज्ने ? पढे लेखेका र क्षमता भएका मान्छेले अवसर नखोजे के खोज्ने ? क्षमता नभएको मान्छेले अवसर खोजेर हुन्छ ? अवसर खोज्ने भनेको डा. स्वार्णिम जस्ता पढेलेखेका र क्षमता भएकाहरुले नै हो । सामान्य पढेलेखेको मान्छेले विश्व बैंकको अर्थशास्त्री बन्ने सपना देखेर हुँदैन । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्न खोजेर बनिदैन ।

डा. स्वर्णिमसँग अन्तराष्ट्रिय ‘एक्सपोजर’ छ । क्षमता छ । पढाइ छ । उनी विश्वका जुनसुकै ठाउँका आर्थिक फोरममा गएर कुरा राख्न सक्ने नेपालले गर्व गर्न लायक नेपाली हुन् । यस्ता व्यक्तित्वलाई सांसद बनाएर नेपालीको इज्जत घट्दैन, बढ्छ । संसदको गरिमा उचो हुन्छ । 

डा. वाग्लेलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउने हो भने नेपालको लागि एउटा मौका आउन सक्ने देखिएको छ । किनभने डा. वाग्लेको अहिले जे जस्तो छवि बनेको छ, उनको जस्तो ‘एक्स्पोजर’ छ, त्यसले उनी निकट भविष्यमा विश्व बैंक वा अन्तराष्ट्रिय मुद्रा कोषको प्रमुख बन्न सक्ने सम्भावना देखिन्छ । 

डा. स्वर्णिम वाग्ले नेपालले पाएको दोस्रो मौका हो । यसअघि तत्कालिन राजा महेन्द्रको पालामा संयुक्त राष्ट्र संघको महासचिव पद पाउने गरी अवसर प्राप्त भएको थियो । तर, राजा महेन्द्रले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि रहेका ऋषिकेशलाई फिर्ता बोलाएपछि उनी संयुक्त राष्ट्रसंघको महासचिव हुन पाएनन् । र, त्यो बेला बर्माका समाजवादी नेता उथान्त राष्ट्रसंघको महासचिव बनेका थिए । राजा महेन्द्रले आफूभन्दा ठूलो मान्छे हुनेभयो भनेर ऋषिकेशलाई रोकेको भन्ने कथ्य अझै छ ।

डा. वाग्ले विश्व बैंक वा आइएमएफको प्रमुख हुनको लागि नेपालमा कम्तिमा पनि मन्त्री बन्नुपर्छ  । अहिलेको निर्वाचनबाट उनी सांसद निर्वाचित भएमा मन्त्री बन्ने सम्भावना अधिक छ । तर, यसका लागि उनी सांसदमा निर्वाचित हुनुपर्नेछ भने रास्वपाले उनलाई मन्त्री बनाउनु पर्नेछ ।

र, थप अर्काे कुरा, ऋषिकेश शाहलाई पनि तत्कालिन समाजले डा. स्वर्णिम वाग्लेलाई अहिले भने जस्तै अवसरवादी, अस्थीर जस्ता तक्मा भिराइदिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्