Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई

शनिबार, चैत ११, २०७९

लुम्बिनी– बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङ्दी क्लबले हात पारेको छ । 

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्याङ्दीले उपाधि हात पारेको हो । 

जितसँगै मनाङले रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । मनाङले सुदूरपश्चिम–११ लाई सड्नडेथमा ४–३ गोलअन्तरले पराजित गरेको हो ।

पेनाल्टी सुटआउटमा मनाङका चार खेलाडीले गोल गरे पनि अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो । यसैगरी सुदूरपश्चिम–११ का चार खेलाडीले गोल गर्दा फागुराम थारूको प्रहारलाई मनाङका गोलरक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए । पेनाल्टी सुटआउटमा समान ४–४ गोल भएपछि सडनडेथबाट विजेताको टुङ्गो लगाइएको थियो । सडनडेथमा मनाङले ४–३ गोलअन्तरले जित दर्ता गरेको थियो ।

निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुदूरपश्चिम–११ का लागि ७१औँ मिने फागुराम थारूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

प्रतियोगितामा सुदूरपश्चिम–११ का फागुराम थारू सर्वोत्कृष्ट खेलाडी बन्दै होन्डाको डियो स्कुटर प्राप्त गर्न सफल भएका छन् । उनले प्रतियोगितामा सर्वाधिक चार गोल गर्न सफल भए । यसैगरी विधागततर्फ वेष्ट फर्वाडरको उपाधिसमेत उनैले जितेका छन् । उक्त उपाधिसँगै उनले ३० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोलरक्षक, विसन गुरुङ उत्कृष्ट मिडफिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्