कोसी प्रदेश नामकरण आन्दोलनको क्षतिको छानबिन गर्न समिति गठन

शनिबार, चैत ११, २०७९

काठमाडौं –सरकारले कोसी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ ।

सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण गरेको र सो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्