तिलोत्तमा गोल्डकपको फाइनल आज

शनिबार, चैत ११, २०७९

बुटवल–२२औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार हुँदैछ । फाइनलमा सुदूरपश्चिम –११ र मनाङ मस्र्याङ्दी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

दुई विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन् ।

चैत ४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टर देविनगरमा ३ बजेदेखि सुरु हुने छ ।

सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । सुदूरपश्चिमले २ जना भारतीय खेलाडीसहितको टिम उतारेर मनाङको चुनौती सामना गर्दैछ ।

मनाङ भने फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पाखा लगाउँदै उपाधि नजिक पुगेको हो । मनाङले तीनजना विदेशी खेलाडीसहितको टिम उतार्ने छ ।

गोल्डकपको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए ।

२१औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।

बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्