सिटी र बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा भिड्ने

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्ने भएको छ ।

शुक्रबार सार्वजनिक भएको ड्रअनुसार सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो पुरानो क्लब ६ पटकको विजेता बायर्न म्युनिखको सामना गर्न लागेका हुन् ।

यता अर्को खेलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब  रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ छ । बाँकी क्वार्टरफाइनलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगलको बेन्फिका तथा सिरी ए च्याम्पियन एसी मिलानले अर्को इटालियन क्लब नापोलीसँग खेल्नेछ ।

यदि चेल्सी र म्यानचेस्टर सिटीले खेल जितेमा उनीहरू सेमिफाइनलमा भिड्नेछन् । 

क्वार्टरफाइनलको पहिलो लेग ११–१२ अप्रिलमा हुनेछ भने दोस्रो लेगका खेलहरू १८–१९ अप्रिलमा हुनेछन् ।

सेमिफाइनलको पहिलो लेग ९–१० मे र दोस्रो लेग १६–१७ मे हुनेछ ।

टर्कीको इस्तानबुलको ओलम्पिक रंगशालामा जुन १० मा फाइनल खेल हुनेछ ।

यस्तै युरोपा लिगको पनि अन्तिम आठको ड्र सार्वजनिक भएको छ । जसअनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियासँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्