महिलालाई आत्मनिर्भर बनाउन बैतडीमा सीपमूलक तालिम

बुधबार, चैत १, २०७९

बैतडी– बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि सीपमूलक तालिम सञ्चालन गरिराखेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले सीपमूलक तालिम सञ्चालमा प्राथमिकता दिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए ।  

हाल वडा नं ४ मा तीनमहिने आधारभूत सिलाइकटाइ र सातदिने व्यावसायिक सीप विकास कुखुरापालन तालिम सञ्चालनमा छ । सिलाइकटाइ तालिम जीवन उपयोगी हुने भएकाले  नगरले यस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको हो । उनले भने, ‘सीपले मानिसलाई स्वरोजगार बनाउनमा मद्दत पुग्छ, श्रम र सीपले आयआर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुन्छ ।’

सिलाइकटाइ तालिमका लागि वडाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाअध्यक्ष हर्कबहादुर चन्द जानकारी दिए । साथै नगरपालिका–७ मा  महिलाहरुका लागि सातदिने नेतृत्व तथा सीप विकास तालिम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय बैतडीको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा आर्थिक स्थिति कमजोर भएका तथा एकल महिलाहरुलाई सहभागी गराइएको र स्वस्थ पोषण तरकारी खेतीको महत्व, तरकारीमा गहुँतको प्रयोग, मौसमी र बेमौसमी तरकारी खेती प्रविधि लगायतका विषयमा छलफल भएको थियो । तालिममा सहभागी महिलाहरुको आर्थिक स्थिति सुधार र आयआर्जनका लागि सामाजिक विकास कार्यालय बैतडीले अनुदानस्वरुप रु २० हजार आर्थिक सहयोग उपलब्ध गराएको  छ । तालिममा पालिकाभरिका २० महिलाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्