बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौँ : कप्तान पौडेल

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् ।

भ्रमणकारी टोली युएईबिरुद्ध आइतबार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् । 

उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताए । एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने उनको भनाई छ ।

nepal point table1678623975.jpg

यस्तै, नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद् भएकोमा खुशी व्यक्त गरे । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भुमिकालाई खेलाडीलाई राम्रोसँग निभ्याएको बताए । खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकोमा खुशी समेत व्यक्त गरे ।

यता खेलमा सर्वाधिक ५ विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुशी लागेको प्रतिक्रिया दिए । उनले आफू टिम बाहिर रहेपनि टोलीको जितमा निकै खुशी भएको र टिम पर्नैपर्ने आकंक्षा आफूमा नभएको बताए । 

एक दिवसीय मान्यता पाएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने उनको भनाई छ ।

लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले सोमबार पपुवान्युगिनी (पिएनजी)सँग खेल्नेछ । नेपालले अब दुई खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोट खेल्ने मौका पाउनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्