अन्तिम समयमा नेप्सेमा सामान्य सुधार, साढे २ अर्बभन्दा बढीको कारोबार 

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– साताको पहिलो दिनको सेयर कारोबार सामान्य अंकले बढेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ४ अंकभन्दा बढीले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार आइतबार परिसूचक ४.५५ अंकले बढेको छ । कारोबार सुरु हुँदादेखि दोहोरो अंकले घट्न थालेको सेयर बजार अन्त्यसम्ममा सुधारिँदै २०२७.१९ बिन्दुमा आएर कारोबार बन्द भयो । 

सेयर कारोबार सुरु भएको ५०औँ मिनेटमा ५७ अंकले घटेको सेयर बजार १९६४ बिन्दुमा झरेको थियो । कारोबार सुरु भएको ५० मिनेटमा ७३ करोड रुपैयाँमा खुम्चिएको सेयर कारोबार अन्तिम समयमा सुधारिँदै साढे २ अर्ब हाराहारी पुग्यो । 

कारोबार सुरु भएको मध्य समयदेखि सुधारिन थालेको सेयर बजार ०.२२ प्रतिशतले बढेर सेयर बजारमा ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब ५२ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि विजया लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्त वित्तिय संस्थाले ७ प्रतिशतभन्दा बढीले नाफा कमाए । त्यस्तै, सिटिजन्स म्युचुअल फन्ड–१ को सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घट्यो ।

आज हिमालयन डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १० करोड ५८ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख ८३ हजार ९९३ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको १४१८ पटक कारोबार भएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्