नेभिगेशन
सुरक्षा–अपराध

दिलीप महतो हत्या प्रकरण : मुख्य दोषीलाई २५ वर्ष कैद

काठमाडौँ –धनुषाका दिलीप महतो हत्यामा मुख्य दोषी ठहरिएका २ जनालाई जन्मकैद सजाय तोकिएको छ । मतियारको रुपमा दोषी पाइएका अर्का एक जनालाई त्यसको आधा सजाय फैसला भएको छ।

जिल्ला अदालत धनुषाले मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र पीडितलाई ५÷५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला गरेको श्रेस्तेदार विकास बस्नेतले थाहाखबरलाई जानकारी दिए ।

उनका अनुसार हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोलाई भने १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने सजाय तोकिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दोषीबाट क्षतिपूर्ति असुल नभए सरकारको विपदकोषबाट दिलीपको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश भएको छ ।

गत फागुन ३ गते जिल्ला अदालतले ३ जनालाई दोषी ठहर गर्दै अन्य ४ अभियुक्तहरूलाई सफाई दिएको थियो । क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवले सफाई पाएका थिए ।

२०७६ पुस २५ गते बिहान घरनजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध