‘लघुवित्तका कारण गरिब उठ्नै नसक्ने गरी थला परे’

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बद्नियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिसभाको बैठकमा बोल्दै सांसद थापाले लघुवित्तका कारण कैयौँको आर्थिक अवस्था डमाडोल भएकोप्रति सरकारले ध्यानाकर्षण गराए । 

‘अतिन्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको, कैयौँ लघुवित्तका कारणले गर्दा गरिब उठ्नै नसक्ने गरी थला परेका छन्,’ उनले भने, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरीवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसमा जिम्मेवार छन्, यही कारणले लघुवित्तको संकट देखिएको हो ।’ 

मर्कामा परेकालाई राहत दिनुपर्ने भन्दै बद्नियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्ने थापाले बताए ।

उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई

तल्लो तहसम्म लैजान समेत माग गरे ।

राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरीवेक्षण कार्य र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने उनकाे भनाइ थियाे ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्