Nic Ad Nic Ad
Nic Ad Nic Ad

लथालिंग सुरुङ सपना : बनिरहेकाको सुस्त गति, कतिपय निर्माण प्रक्रियामै जान सकस

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नै नागढुंगा सुरुङमार्ग २ वर्षभित्र सम्पन्न गरी सञ्चालन ल्याइने उद्घोष गर्‍यो । तर, सरकारले घोषणा गरेजसरी उक्त सुरुङमार्ग सञ्चालनमा आउने देखिँदैन ।

बजेट वक्तव्यअनुसार चालु आर्थिक वर्षभित्र सुरुङमार्गको काम सकिनुपर्ने हो । तर, विश्वव्यापी कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी (लकडाउन), स्थानीयको अवरोधलगायत कारण सुरुङमार्ग निर्माण अघि बढ्न सकेन ।

फलस्वरूप ४२ महिना अर्थात् साढे ३ वर्षभित्र सम्पन्न हुने भनिएको नागढुंगा सुरुङमार्ग सो अवधिभित्र नसकिने निश्चित छ । सम्झौताअनुसार, आयोजना २०७९ चैतसम्म सकिनुपर्छ ।

तर, कोरोनालगायत कारणले काम रोकिएपछि सरकारले ३ महिना म्याद थपिसकेको छ । त्यसअनुसार, आयोजना २०८० असारसम्म सम्पन्न गर्नुपर्छ । थपिएको अवधिभित्र पनि निर्माण पूरा नहुने भएपछि आयोजनाले पुनः ६ महिनाका लागि म्याद थप्न प्रस्ताव गरिसकेको छ ।

नागढुंगा मात्रै होइन, अघिल्लो आर्थिक वर्षमै निर्माण थाल्ने भनिएका सिद्धबाबा, लामाबगर–ल्याप्चे र धरान–धनकुटा सडकखण्डअन्र्तगत पर्ने धरान–देउती सुरुङमार्ग अघि बढ्न सकेका छैनन् ।

१ वर्ष ढिला गरी सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङ निर्माणको प्रक्रिया अघि बढेको छ । आयोजना अघि बढाउन यसै वर्ष ठेक्का प्रक्रिया अघि बढेर आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुँदै छ ।

योबाहेक बाँकी २ वटा सुरुङमार्ग निर्माणका लागि अहिलेसम्म जग बसिसकेको छैन ।

सरकारको जोड पनि आधुनिक सुरुङमार्ग बनाउनेमै केन्द्रित छ । तथापि, सरकारले भनेजसरी सुरुङमार्ग आयोजना निर्माणले गति समाउन भने सकेको छैन ।

अर्थात्, निर्माण भइरहेका सुरुङमार्ग आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । निर्माणको गति धिमा छ भने पहिचान भएका र प्रस्ताव गरिएका सुरुङमार्ग निर्माण प्रक्रियामै जान सकेका छैनन् ।

भौगोलिक विकटता र धेरै घुम्ती भएका सडकमा सरकारले सुरुङमार्ग निर्माणको अवधारणा ल्याएको छ ।

तर, कतिपय सुरुङमार्गको अध्ययन र विस्तृत सम्भाव्यता अध्ययन पूरा नहुँदा निर्माण प्रक्रियामा जान सकेका छैनन् भने अध्ययन पूरा भएका आयोजना पनि स्रोत जुटाउन नसक्दा निर्माण प्रक्रियामा लैजान सरकारले सकिरहेको छैन ।

नागढुंगा सुरुङमार्ग निर्माण थालनी भएसँगै सरकारले नै देश सुरुङमार्गको युगमा प्रवेश गरेको घोषणा गरिसकेको छ । तर, नागढुंगा र सिद्धबाबाबाहेक अहिलेसम्म कुनै पनि सुरुङमार्ग आयोजना निर्माणको प्रक्रियामा जान सकिरहेका छैनन् ।

चालु वर्षभित्र दुम्कीबास–बर्दघाट, कुलेखानी–भीमफेदी, खुर्कोट–चियाबारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुंगा–इमिल्चाखोला, सुर्खेत–रानीघाट–भुरीगाउँ सुरुङमार्गको अध्ययन गर्ने सडक विभागको तयारी छ ।

तर, ती सुरुङमार्ग आयोजनाको अध्ययन सकिएर कहिलेदेखि निर्माण सुरु हुन्छ भन्ने यकिन छैन । पूर्वअध्ययन, डिजाइन र सम्भाव्यता अध्ययनमै लामो समय खर्चिंदा आयोजना निर्माण प्रक्रियामै जान ढिलाइ भइरहेको विज्ञहरू बताउँछन् ।

अहिले सुरुङ बनाउने भनेर पहिचान गरिएका ठाउँहरू अत्यन्तै तदर्थ र राजनीतिक ‘प्रपोगान्डा’ मच्याउने हिसाबका रहेको बताउँछन्, पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य । 

पुराना राष्ट्रिय राजमार्गका खण्डहरू सुरुङ नबनाउने गरी रेखाङ्कन (अलाइन्टमेन्ट) भए पनि सुरुङ प्रविधिले रेखांकन नै परिवर्तन गर्नुपर्ने हुँदा अत्यन्त खर्चिलो विकास हुने उनको भनाइ छ ।

‘अहिले हाम्रा पुरानै राजमार्गका सडकखण्डमै सुरुङ बनाउने भनेको छ, त्योचाहिँ उपयुक्त नहुन सक्छ । त्यो पनि केस हेरीकन हुन्छ,’ उनले भने, ‘किनकि राजमार्गको रेखांकन गर्दा सुरुङ प्रविधि नबनाउने गरी गरिएको हुन्छ, लामो दुरीमा । तर, अहिले ती लामा राजमार्ग खण्डमा अर्बौं खर्च गरेर सुरुङमार्ग बनाउने कुरा त उपयुक्त भएन नि !’

उनले विदेशी ऋणबाट बन्ने विकास आयोजना झनै महँगो हुने बताए । ‘सुरुङमार्ग जस्ता विकास आयोजनाहरू महँगा हुन्छन् । नेपालमा सरकारले बनाउन सक्दैन । बाहिरबाट ऋण ल्याएर बनाउँदा त झन् महँगो पर्छ,’ उनले भने ।

नेपालजस्तो पहाडी भूभाग र घुमाउरा सडकमा सुरुङ प्रविधि उपयुक्त र सुरक्षित रहे पनि त्यसको अध्ययन, डिजाइन, मर्मत सम्भारमा समेत राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

धेरैजसो सुरुङमार्ग अध्ययनकै क्रममा रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन् । नागढुंगा सुरुङमार्गको मुख्य सुरुङतर्फको काम चालु आवको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

सिद्धबाबा सुरुङमार्ग निर्माण आगामी आवदेखि औपचारिक रूपमा सुरु हुने उनी बताउँछन् । तीबाहेक केही सुरुङमार्ग अध्ययनको अन्तिम चरणमा रहेको र केही अध्ययनकै चरणमा रहेको उनको भनाइ छ ।

टोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको महानिर्देशक ढकालले सिएन नेपालसँग बताए ।

चालु आर्थिक वर्षमा नागढुंगा सुरुङमार्ग आयोजनाका लागि ५ अर्ब २० करोड रूपैयाँ विनियोजन भएको छ भने अन्य प्रस्तावित सुरुङमार्ग अध्ययन र विकासका लागि सरकारले १ अर्ब १९ करोड रूपैयाँ विनियोजन गरेको छ ।

यी हुन् निर्मार्णाधीन तथा प्रस्तावित सुरुङ मार्ग

१. नागढुंगा सुरुङमार्ग

२. सिद्धबाबा सुरुङमार्ग

३. टोखा–छहरे–गुर्जभन्ज्याङ सुरुङमार्ग

४. कुलेखानी–भीमफेदी सुरुङमार्ग

५. दाउन्ने (दुम्कीबास–बर्दघाट) सुरुङमार्ग

६. हेम्जा–नयाँपुल सुरुङमार्ग

७. लामाबगर–ल्याप्चे सुरुङमार्ग

८. धरान–लेउती सुरुङमार्ग

९. कोटेश्वर–जडीबुटी सुरुङमार्ग

१०. खुर्कोट–चियाबारी सुरुङमार्ग

११. मझिमटार–शक्तिखोर सुरुङमार्ग

१२. थानकोट–चित्लाङ सुरुङमार्ग

१३. नयाँ वानेश्वर अन्डरपास

१४. प्रवास–जोर्ते (पाल्पा) सुरुङमार्ग

१५. वेत्रावती–स्याफ्रुबेँशी सुरुङमार्ग

१६. दुम्लिङ–वाङसिङ सुरुङमार्ग

१७. बबई–छिन्चु सुरुङमार्ग

१८. कपासे–सियाकोट सुरुङमार्ग

१९. बिपीनगर–खुटिया–दिपायल सुरुङमार्ग

२०. गोदावरी–पनौती सुरुङमार्ग

२१. ताथली–बिओपी सुरुङमार्ग

२२. गौशाला अन्डरपास

स्रोत– सडक विभाग
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्