हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

मंगलबार, फागुन २, २०७९

हेटौँडा –सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।

कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ । 

उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र १ हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गर्नुभयो । कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ । 

लामो समय बन्द भएको उद्योग ३ महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो । 

दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सो अनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन । उद्योग विगत ४ वर्षदेखि घाटामा छ । २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा उद्योग स्थापना भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार