देवीको सपना अशोकले कार्यान्वयन गर्दा बनेको साढे ३ खर्बको प्रभु बैंक

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ– प्रभु बैंक व्यवस्थापन समितिले आगामी कार्यकालका लागि अशोक शेरचनलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई तेस्रो कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो ।

यसअघि २०७५ साल माघमा दोस्रो कार्यकालका लागि उनी सिइओ नियुक्त भएका थिए । सेन्चुरी बैंकलाई प्राप्ति गरेसँगै प्रभु बैंकले तेस्रोपटक बैंकको व्यवस्थापकीय नेतृत्व शेरचनलाई सुम्पिएको छ । 

सामान्य अवस्थामा लगातार २ पटकसम्म मात्रै सिइओ हुन पाइने भए पनि मर्जर वा एक्विजिसनमा गएका बैंक वित्तीय संस्थामा थप अर्काे एक कार्यकाल पनि सिइओ हुन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

यही व्यवस्थाका कारण शेरचनले प्रभु बैंकमा तेस्रो पटक सिइओ हुने मौका पाएका हुन् । प्रभु बैंकले केही साताअघि मात्रै सेन्चुरी बैंकलाई एक्वायर (प्राप्ति) गरेको थियो ।

 

बैंकिङ करिअर

सिइओ शेरचनको बारेमा करिब ३ वर्षअघि सरकारी समाचार संस्था राससले एउटा लामो बायोग्राफी नै प्रकाशित गरेको थियो । पत्रकार रमेश लम्सालले लेखेको सो बायोग्राफीमा शेरचनको बारेमा धेरै कुराहरू खुलाइएको छ । 

अशोक शेरचन थकाली समुदायका हुन् । मुस्ताङको थाकखोलाबाट झरेका थकाली प्रायः आफ्नो परम्परागत पेसामा नै रमाएका छन् । थकालीको परम्परागत पेसा स्वादिलो खाना खुवाउने भएकाले सानो समुदाय भए पनि उनीहरूको आफ्नै शान, मान र नाम छ । होटल व्यवसायमा नलागेका थकालीहरू ‘लाहुर’ जाने परम्परा थियो ।

थकाली खानाको ब्रान्डिङ असाध्यै राम्रोसँग भएको छ । थकाली भान्साघरको स्वाद नेपालमा मात्रै होइन, अहिले विदेशमा समेत पुग्न थालेको छ । त्यही थकाली समुदायका शेरचन भने प्रभु बैंकलाई ‘थकाली भन्साघर’ जस्तै गरी ब्रान्डिङ गर्न सफल भएका छन् । 

थकाली समुदायमा सामूहिक भावना एकदमै बलियो हुन्छ । थकाली समुदायमा ढुुकुटी खेल्ने र आर्थिक रूपमा सबैलाई सबल बनाउने परम्परा छ । त्यसैले होला, एकाधबाहेक धेरैजसो थकाली आर्थिक रूपमा सम्पन्न छन् ।

तर, अशोक शेरचन भने न परम्परागत होटल व्यवसायमा लागे, न त लाहुर नै । २०२९ सालमा बागलुङमा जन्मिएका शेरचनको अध्ययनको विधा नै बैंकिङमा तान्ने खालको थियो । किनभने उनले शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायको अध्ययन गरेका थिए ।

शंकरदेव क्याम्पसमा व्यवस्थापन पढेकै आधारमा उनी बैंकर बनेका भने थिएनन् । उनी बैंकिङ क्षेत्रमा छिर्ने समय (सन् १९९५ तिर) गोविन्दबहादुर थापा नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारी थिए । थापा नाताले शेरचनका सानाबा थिए । 

सन् १९९५ मा तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकमा जागिर खुलेको साथीभाइबाट उनले सुने । र, सानाबा थापाले पनि एनबी बैंकमा जागिर खाँदा राम्रो हुने सल्लाह दिए ।

उनले नेतृत्व गरेको प्रभु फाइनान्सले प्रगति गर्दै गयो । तत्कालीन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बनेको प्रभु डेभलपमेन्ट बैंकको सिइओको जिम्मेवारी पनि शेरचनले नै पाए ।

साथीभाइ र सानाबा (अर्थशास्त्री स्वर्गीय डा. गोविन्दबहादुर थापा) को सल्लाहअनुसार उनले आवेदन दिए । लिखित, मौखिक जस्ता परीक्षाका सबै चरण पार गरेर उनले एनबी बैंकमा बैंकिङ करिअर सुरु गरेका थिए । यो थियो– सन् १९९५ को कुरा । र, उनको मासिक तलब थियो ४३ सय रूपैयाँ ।

केही समय एनबी बैंकमा काम गरेपछि उनी तत्कालीन एनसिसी बैंक प्रवेश गरे । अहिले एनसिसी बैंक कुमारी बैंकमा मर्ज भइसकेको छ भने एनबी बैंकलाई नबिल बैंकले आफूमा समाहित गरिसकेको छ ।

एनसिसी बैंकमा उनी सिनियर अफिसर भइसकेका थिए । यस्तैमा उनी बैंकको जागिर छाडेर अध्ययनका लागि लन्डन गए । अध्ययनकै बीचमा सन् २००६ मा शेरचनलाई प्रभु फाइनान्सको सिइओ बन्ने अफर आयो । अनि उनी नेपाल फर्किएर सन् २००७ मा प्रभु फाइनान्सको सिइओ भए । 

उनले नेतृत्व गरेको प्रभु फाइनान्सले प्रगति गर्दै गयो । तत्कालीन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बनेको प्रभु डेभलपमेन्ट बैंकको सिइओको जिम्मेवारी पनि शेरचनले नै पाए ।

शेरचनको व्यवस्थापकीय नेतृत्वमा रहेको प्रभु डेभलपमेन्ट बैंक ठुलो बन्ने अभियानमा निरन्तर लाग्यो । प्रभुले जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई एक्वायर गर्‍यो । सिइओ भने शेरचन नै रहे ।

प्रभु फाइनान्सको सिइओ हुँदै प्रभु बैंकको सिइओ भएका शेरचनले बैंकलाई अब्बल बनाउँदै ‘टप फाइभ’भित्र राख्न सफल भएका छन् ।

शेरचनले सन् २०१४ देखि प्रभु बैंकको सिइओको जिम्मेवारी सम्हाल्दै आएका छन् । सिइओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो तेस्रो कार्यकाल सुरु गर्ने छन् । उनले आगामी ४ वर्षसम्म बैंकको सिइओको जिम्मेवारी पाएका छन् ।

 

कमजोर संस्था लिने, बलियो बनाउने

सिइओ शेरचनसँग कमजोर वित्तीय अवस्थामा पुगेका बैंक वित्तीय संस्थालाई पनि आफ्नो संस्थामा मिसाएर बलियो बनाउने विशेष क्षमता रहेको देखिन्छ ।

सिइओ शेरचनको कार्यकालमा प्रभु बैंकसँग विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसन भएको छ । 

प्रभु विकास बैंक, प्रभु फाइनान्स र बैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबार भएको थियो । सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो ।

यस्तै, २०७३ माघ २ गते ग्रान्ड बैंक नेपालसँग मर्जर भएको थियो । सेन्चुरी बैंकलाई प्राप्ति गरी गत पुस २६ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । यी सबै मर्जर तथा एक्विजिसनमा शेरचनले महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

 

भट्टचनको भरपर्दाे अभिभावकत्व

कुनै पनि बैंक तथा वित्तीय संस्था सम्पूर्ण रूपमा सफल हुन त्यसको व्यवस्थापन र सञ्चालक समिति दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

अहिले प्रभु बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौला छन् । सिटौला नेपाल राष्ट्र बैंकको विशिष्ट श्रेणी कार्यकारी निर्देशक पदबाट अवकाश पाएका व्यक्ति हुन् । सिटौला यसअघि कृषि विकास बैंकको सिइओ पनि भइसकेका छन् ।

नेपालको बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको उपल्लो तहमा बसेर काम गरेका सिटौलाले अहिले प्रभु बैंकको सञ्चालक समितिको नेतृत्व गरेका छन् । 

devi bhattachan1674819685.jpg

सिटौलाको अनुभव, ज्ञान र एक्स्पोजरले प्रभु बैंकलाई पनि व्यावसायिक रूपमा सफल बनाउन थप सहयोग पुगेको छ । यसमा पनि सिइओ शेरचनको समन्वयकारी भूमिकाले बैंकलाई थप बल प्रदान गरेको छ ।

प्रभु बैंकलाई आजको अवस्थामा ल्याइपुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्का व्यक्ति देवीप्रकाश भट्टचन हुन् । भट्टचनले फाइनान्स कम्पनी स्थापना गरी दुइटा वाणिज्य बैंकलाई ‘रेस्क्यू’ गरेर नेपालको बैंकिङ इतिहासमै अर्थपूर्ण काम गरेका छन् ।

भट्टचनकै पहलमा सन् २००५ मा प्रभु फाइनान्स कम्पनी स्थापना भएको थियो । सो फाइनान्स कम्पनी स्थापना भएको २ वर्षपछि उनी अध्यक्ष भएका थिए । प्रभु फाइनान्स कम्पनी सञ्चालनमा आउनुअघि उनी तत्कालीन ग्लोबल बैंकका सञ्चालक थिए ।

भट्टचनले प्रभु फाइनान्स सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी लिएपछि सो फाइनान्स कम्पनीले धेरै संस्थाहरू प्रभुमा मर्ज गरायो । यसरी मर्ज हुँदै गएपछि तत्कालीन प्रभु फाइनान्स कम्पनी प्रभु विकास बैंकमा स्तरोन्नति भएको थियो । पछि प्रभु विकास बैंक र तत्कालीन किस्ट बैंक मर्ज भएर प्रभु बैंक बन्यो ।

जतिबेला किस्ट बैंक प्रभु विकाससँग मर्ज भएको थियो, त्यो बेला किस्ट बैंक समस्यामा परेको थियो । समस्यामा परेको किस्टलाई मर्ज गरेपछि प्रभु बैंकले समस्यामा परेको अर्काे वाणिज्य बैंक ग्रान्डलाई एक्वायर गरेको थि

 

वित्तीय क्षेत्रको स्थापना र विकासमा भट्टचनको योगदान महत्वपूर्ण छ । प्रभु समूह स्थापना गरी उनकै अगुवाइमा खुलेका प्रभु मनी ट्रान्सफर, प्रभु लाइफ इन्स्यारेन्स, प्रभु जनरल इन्स्योरेन्सलगायत वित्तीय संस्था पनि सञ्चालनमा छन् ।

भट्टचन तत्कालीन प्रभु फाइनान्सको २ कार्यकाल सञ्चालक समिति अध्यक्ष भएका थिए । यस्तै, प्रभु विकास बैंक बनेपछि पनि २ कार्यकाल सञ्चालक समिति अध्यक्ष भएर काम गरे । 

किस्ट बैंकसँग मर्जरपछि बनेको बैंकमा पनि उनी अध्यक्ष भएका थिए । त्यसपछि ग्रान्ड बैंकसँगको मर्जपछि उनी फेरि सञ्चालक समिति अध्यक्ष भए । त्यसपछिको साधारणसभाबाट अध्यक्षमा निर्वाचित भट्टचन प्रभु बैंकमा ३ पटक गरी ८ वर्ष अध्यक्ष बने ।

प्रभु बैंकको प्रमुख लगानीकर्तामध्येमा भट्टचन पर्छन् । प्रोफेसनलहरूलाई सञ्चालन गर्न दिने आफ्नो योजनाअनुसार नै भट्टचन सञ्चालक समितिबाट बाहिरिएर सिटौलालाई अध्यक्ष बन्ने वातावरण निर्माण गरिएको थियो ।

प्रभु बैंकले अहिले प्राप्त गरेको उपलब्धि खासगरी व्यवस्थापनको तर्फबाट अशोक शेरचन र सञ्चालक समितिको तर्फबाट देवीप्रकाश भट्टचनले कोरेको रोडम्यापका कारण सम्भव भएको हो ।

 

ओशोले दिएको प्रभु नाम

प्रभु समूहका अध्यक्ष भट्टचन ओशोका अनुयायी हुन् । ओशोले आफ्ना सबै अनुयायीलाई बेग्लै नाम दिने गर्थे । भट्टचनलाई ओशोले प्रभु शरणम् नाम दिएका थिए ।

देवी नाम भएका कारण पनि ओशोले भट्टचनलाई यो नाम दिएका थिए । यही कारण सुरुमा फाइनान्स कम्पनीको नाम प्रभु फाइनान्स राखिएको थियो । प्रभु फाइनान्स हुँदै अहिले प्रभु बैंक बनेको कारण सो नामले निरन्तरता पाएको हो ।

 

३ खर्ब ४० अर्बको बैंक

सेन्चुरी बैंकलाई एक्वायर गरेपछि प्रभु बैंकको ब्यालेन्स सिटको आकार बढेको छ । प्रभु बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रूपैयाँ पुगेको छ । यस्तै, रिजर्भको आकार बढेर ९ अर्ब रूपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रूपैयाँ पुगेको छ ।

बैंकले दिएको जानकारीअनुसार एकीकृत सम्पत्ति ३ खर्ब ४० अर्ब रूपैयाँ नाघेको छ । ग्राहक संख्या ३० लाख नाघेको छ । अब बैंकका कुल ३६५ वटा शाखा, ३०९ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर भएका छन् । र, यो बैंकको व्यवस्थापकीय नेतृत्व अवको ४ वर्षसम्म अनुभवी बैंकर अशोक शेरचनले गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्