Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्टार्टअपलाई अनुदान दिने भनेको सरकारले ऋण पनि पत्याएन 

बिहीबार, माघ १२, २०७९

काठमाडाैं– सुरुवाती व्यवसाय (स्टार्टअप)लाई प्रोत्साहन गर्ने भनेर सरकारले कार्यक्रम ल्याएको तीन वर्ष बित्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।  

सुरूमा अनुदान दिने भनेर ल्याएको कार्यक्रमलाई पछि सहुलित ब्याजरमा ऋण दिने गरी संशोधन गरिएको थियो । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलले उक्त कार्यक्रमको कार्यन्वयन गर्ने भनेर जिम्मेवारी तोकिएको छ । तर, मन्त्रालयले कार्यविधिलाई थप स्तरिकृत गर्नुपर्नेभन्दै सरोकावालाहरुसँग छलफल गरिरहेको छ । 

यसरी सुरु भयो कार्यक्रम

सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई व्यवसाय सञ्चालन गर्न अनुदान दिने भन्दै राष्ट्रिय योजना आयोगले २०७७ वैशाखमा सूचना जारी गरेको थियो । 

आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले स्टार्टअपलाई प्रोत्साहन गर्ने कार्यक्रम समावेश भएको थियो । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण र अन्य सेवा प्रदान गर्न एक अर्बको च्यालेन्ज फन्ड स्थापना गरिएको बजेटमा उल्लेख भएको थियो । त्यसैको कार्यान्वयनको लागि योजना आयोगले स्टार्टअपहरुलाई अनुदान लिनका लागि सूचना जारी गरेको थियो । 

छानिएका स्टार्टअपहरुले न्यूनतम १० लाखदेखि १ करोड रूपैयाँसम्मको परियोजनाको कुल लागतको ५० प्रतिशतसम्म अनुदान पाउने आश्वासन त्यसबेला दिइएको थियो ।

अनुदानको प्रावधान ऋणमा बदलियो

सरकारले २०७७/७८ को बजेटमा भने अघिल्लो प्रावधान नै बदल्यो । स्टार्टअपलाई अनुदान दिने कार्यक्रम हटाएर एक प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने कार्यक्रम ल्यायो । त्यसबेला स्टार्टअप परियोजना धितो राखेर २५ लाखसम्म ऋण लिन सकिने व्यवस्थाको घोषणा बजेटमा गरिएको थियो ।

त्यसअघि नै नवप्रवर्तन सुरुवाती पुँजी अनुदानसम्बन्धी कार्यविधि २०७६ र नवप्रवर्तन सुरुवाती पुँजी अनुदानसम्बन्धी मापदण्ड २०७७ बनेको थियो । ती कार्यविधि र मापदण्डमा स्टार्टअपहरूलाई ५ देखि ५० लाख रुपैयाँसम्म पुँजी अनुदान उपलब्ध गराउने व्यवस्था थियो ।

पछिल्लो वर्षको बजेटमा अघिल्ला ती कार्यक्रम फेरियो र ऋण दिने भनेर कार्यविधि बनाइयो । स्टार्टअपलाई प्रोत्साहन गर्न अनुदान दिने भनेको सरकारले पछिल्लो समय सहुलित ब्याजदरमा ऋणको कार्यक्रम ल्यायो । त्यसबेलै स्टार्टअपप्रति सरकार स्पष्ट हुन नसकेको भनेर आलोचना भएको थियो । तर, अहिले स्टार्टअपलाई दिने सहुलियत ब्याजदरको ऋणबारे सरकार बेखबर जस्तै छ । 

सरकारले पछिल्लो पटक २०७८ मंसिरमा बनाएको कार्यविधिमा स्टार्टअपहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।  त्यस्तो ऋण दिनको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० दिनको म्याद तोकी राष्ट्रिय दैनिकमा आवेदन खुलाउने र त्यसअन्तर्गत परेको आवेदनहरुलाई छनोट गरेर सहुलियत ब्याजदरमा ऋण दिने भनिएको थियो । 

तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेसम्म त्यस्तो सूचना प्रकाशन गरेको छैन । स्टार्टअपहरुलाई सहुलियत ब्याजदरमा ऋण दिने कार्यविधि २०७८ मा बनेको पनि हालसम्म ऋण दिने प्रक्रिया भने सुरू नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले बताए । 

हाल मन्त्रालयले यसबारे थप कार्यविधि र स्टार्टअप सम्बन्धि नीतिहरु बनाउने काम गरिरहेको गौतम बताउँछन् । ‘सरोकारवालाहरुसँग परामर्श गरिरहेका छौं । अहिलेसम्म ऋण दिने प्रक्रिया सुरू भएको छैन । सम्बन्धित नियकाहरूसँग समन्वय गरेर गरेर जतिसक्दो चाडो ऋण दिने प्रक्रिया सुरु गर्छौं’, गौतमले भने ।

स्टार्टअपलाई प्रोत्साहन गर्ने सरकारी कार्यक्रमबारे योजना आयोग पनि अहिले अनविज्ञता दर्शाउँछ । राष्ट्रिय योजना आयोगका सहसचिव एवं प्रवक्ता राजेन्द्र कुमार पौडेल स्टार्टअपलाई प्रोत्साहन कार्यक्रमबारे योजना आयोगलाई जानकारी नभएको बताए । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्