अभिनेत्री ऋचा शर्माले जितिन् उत्कृष्ट अभिनेत्रीको अन्तर्राष्ट्रिय अवार्ड

आइतबार, माघ ८, २०७९

काठमाडौँ– अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

 

अभिनेत्री शर्माले अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको ‘फेस्टिभल’मा नेपाली सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् ।

 

उनको यो पहिलो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘फेस्टिभल’मा भाग लिन एक हप्ताअघि अष्ट्रेलिया पुगेकी उनी यही बुधबार नेपाल फर्किँदैछिन् । 

 

 

सयभन्दा बढी देशका विभिन्न विधाका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो ।

 

फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनाका अनुसार सर्ट फिल्म ‘ब्लड मनी’ले सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड समेत जितेको छ । 

 

२८ मिनेट अवधिको ‘ब्लड मनी’ फिल्ममा पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथा देखाइएको छ । फिल्ममा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको समेत अभिनय रहेकाे छ । सनिस श्रेष्ठ र विदेशमा सुवास गिरीले खिचेको ‘ब्लड मनी’को निर्माता पारस तिमल्सिना हुन् ।

 

ओएसआर डिजिटलको युट्युब च्यानलमा आठ महिनाअघि यो फिल्म सार्वजनिक भैसकेको छ । 

 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्