झारफुकको बहानामा यातना दिने पाँचजना काठमाडौंबाट पक्राउ

पीडित महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्‍जमा उपचार हुँदै
मंगलबार, पुस ५, २०७९

काठमाडौं । झारफुकको बहानामा विभिन्न यातना दिने पाँचजनालाई काठमाडौंको तारकेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त बालाजुबाट मंगलबार खटिएको प्रहरी टोलीले झारफुक गर्ने अर्घाखाँची घर भई हाल तारकेश्वर–८ बस्ने १९ वर्षीया सचिना सारु मगर  र उनका सहयोगीहरु उदयपुर घर भई हाल तारकेश्वरमै बस्ने २६ वर्षीय पदम बहादुर मगर, २६ वर्षीय संगम राई १८ वर्षीय सागर मगर तथा चितवन घर भई हाल तारकेश्वर–८ मै बस्ने १८ वर्षीय अजित तामाङलाई पक्राउ गरेको हो ।

 

गत शनिबार आमचोक गाउँपालिका वडा नं.–६ मा घर भई हाल काठमाडौं तारकेश्वर–११ मनमैजु डेरा गरी बस्ने ३६ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा उनीहरुले यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार विगत केही वर्षदेखि काप्ने, बर्बराउने, छटपटाउने भई अस्वस्थ हुँदा झारफुक गर्न भनी मगरले पीडित महिलालाई तातो पन्यूले डाम्ने, शरीरमा तातो तेल र तातो पानी खन्याउने कार्य गरेको सूचनाका आधारमा उनीहरुलाई  पक्राउ गरेको हो ।

 

पीडित महिलाको शरीरमा छाला खुइलिई पाक्ने तथा अनुहारको भागसमेत कुरुप भएको छ । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्‍जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्