माओवादीमा संयोग: अङ्क १७

आइतबार, मंसिर ११, २०७९

काठमाडौँ– यस पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १७ स्थानमा विजयी भएको छ ।  प्रतिनिधिसभाका १६५ सिट मध्ये माओवादी केन्द्रले १७ सिट जितेको छ । मतगणनाको केही ठाउँको मत परिणाम आउन बाँकी छ तर, पार्टीले कुनै पनि स्थानमा अग्रता लिएको छैन । त्यसैले प्रतिनिधिसभामा माओवादी केन्द्रले १७ स्थानमा सिमित भएको छ । 


माओवादी केन्द्रले यस निर्वाचनमा प्रतिनिधिसभामा जितेको १७ स्थानले उसको विगत पनि सम्झाइ दिएको छ । माओवादीले यस पटक प्रतिनिधिसभामा १७ सिट जित्नु, यसै वर्ष विस्तृत शान्ति सम्झौताको १७ वर्ष हुनु र माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्धमा १७,००० मारिनु एउटासंयोग बनेको छ ।


यस पटकको निर्वाचनमा माओवादी केन्द्रले देशैभर प्रतिनिधिसभामा ४५ उम्मेदवार उठाएको थियो । सत्ता गठबन्धनमा रहेका कारण पार्टीले गठबन्धनभित्रका अन्य दलहरूका लागि सिट छाड्नु परेको थियो । गठबन्धनभित्र नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा छन् । ४५ सिटमा उम्मेदवारी दिएपनि पार्टीले १७ सिटमा जित हात पारेको छ ।


यसै वर्ष विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पनि पुरा भएको छ । १० वर्षसम्म द्वन्द्वरत रहेको तत्कालीन माओवादी र सरकारबीच ५ मङ्सिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए ।


१ फागुन २०५२ देखि शुरु भएको माओवादी जनयुद्धको औपचारिक अन्त्य विस्तृत शान्ति सम्झौता भएको दिनलाई नै मानिन्छ । राज्य र विद्रोही दुवै पक्षले शान्ति स्थापना गर्ने र आगामी दिनमा हिंसा नगर्ने र द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने, राज्य र माओवादी दुवैतर्फबाट भएका गैरन्यायिक हत्याको छानविन गरेर दोषीलाई कारवाही गर्ने उक्त सम्झौतामा उल्लेख छ ।


शान्ति सम्झौताअनुसार २६ माघ २०७१ मा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग पनि गठन भएको छ । यी दुवै आयोग गठन भएको ८ वर्ष भइसक्दा पनि ती दुवै आयोग निस्प्रभावित देखिएका छन् ।


माओवादी द्वन्द्वका पीडितहरूले ती दुवै आयोगबाट न्याय पाउने आशा लगभग मारिसकेका छन् । २ वर्षमा काम सम्पन्न गर्ने गरी यी आयोग बनाइएका थिए । तर पटक पटक आयोगको म्याद थपिदै छ तर पीडितहरूको घाउ भने कम भइरहेको छैन । ती आयोगहरूमा परेका ६२ हजारभन्दा बढी मुद्दा अहिले पनि त्यसै थन्किएका छन् ।


यस्तै अङ्क १७ को अर्को संयोग पनि मिलेको छ । माओवादीले १ फागुन २०५२ मा सुरु गरेको जनयुद्धमा देशभर करिब १७,००० जनाको मुृत्यु भएको छ । जनयुद्धको विधिवत अन्त्य भएको दिन ५ मङ्सिर २०६३सम्म झण्डै १७,०००को मृत्यु भएको आँकडा छ । त्यस्तै  सरकार र माओवादी दुवैतर्फबाट झण्डै १७ जना वेपत्ता भएको तथ्याङ्क पनि छ । जनयुद्धमा कयौं बेपत्ता र अंगभंग भएका छन् । जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना पनि निर्माण गरेको थियो ।


२५ चैत २०७४ मा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादी द्वन्द्वमा १७ हजार ८८६ को मृत्यु र १७ सय ३० बेपत्ता गरी कुल १९ हजार ६१६ जनाको मानवीय क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्