नेभिगेशन
जीवनयापन

देउवा सरकार अब ‘कामचलाउ’, ठूला निर्णय गर्न नपाउने

काठमाडौँ - प्रदेश र संघीय निर्वाचनको मिति घोषणासँगै पाँचदलीय गठबन्धन सरकार कामचलाउमा परिणत भएको छ । आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउमा परिणत भएको हो ।

मन्त्रिपरिषद् बैठकले आउँदो मंसिर ४ गते आइतबारका दिन देशभर एकै चरणमा प्रादेशिक र संघीय निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको अघिल्लो दिन बुधबार बालुवाटारमा बसेको सत्तारूढ पाँचदलीय गठबन्धन बैठकले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो ।

कामचलाउ सरकारले के–के गर्न पाउँदैन ? कामचलाउमा परिणत भएपछि अब सरकारले नियमित दैनिक प्रशासनिक कामबाहेक दीर्घकालीन असर पर्ने नीति–कार्यक्रम, बजेट र योजना ल्याउन नपाउने कानुनविद्हरु बताउँछन् । ‘निर्वाचनको मिति घोषणा भएपछि सरकार कार्यवाहक हुने हो । कार्यवाहक सरकारले दैनिक प्रशासन चलाउने बाहेकका ठूला निर्णय, स्रोत–साधनको वितरण, नयाँ कानुन बनाउने काम गर्न पाउँदैन,’ संविधानविद् विपिन अधिकारीले भने ।

अर्का संविधानविद् राजु चापागाई पनि निर्वाचनको मिति घोषणासँगै सरकार चुनावी सरकारमा परिणत भएको बताउँछन् । चुनावी सरकारले सार्वजनिक महत्व राख्ने ठूला निर्णयहरूसँगै नीति गत र कानुनी कुराहरु गर्न नमिल्ने उनको भनाइ छ । कानुनका जानकारहरुका अनुसार चुनावी सरकारले कर्मचारीहरुको नियमित सरुवा–बढुवा, मन्त्रीहरुको नियुक्ति, चुनाव प्रभावित पर्ने गरी बजेट ल्याउन, सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने, राजनीतिक नियुक्ति गर्नेलगायतका कामहरु गर्न पाउँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना