नेभिगेशन
जीवनयापन

संसदीय समितिको प्रश्न : प्रधानसेनापति आईपीएसको बैठकमा किन ?

काठमाडौँ - संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ ।

आज (बिहीवार) सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले समितिले निर्देशन दिएको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनुले झनै यसमा सशङ्कित बनाएको निष्कर्ष निकालेको हो ।

बैठकमा बोल्दै समिति सभापति निरादेवी जैरुले समितिले बोलाएको बैठकमा मन्त्रीको काम आइपरे पनि रक्षा मन्त्रालयका सचिव र प्रधानसेपति किन नआउनु भएको भन्दै प्रश्न गरेकी छन् । उनले सम्बन्धित मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानसेनापतिलाई तत्काल समितिमा उपस्थितिका लागि पत्राचार गर्न समिति सचिवलाई निर्देशन दिइन् ।

उनले भनिन्, ‘सरकारले हामी एसपीपीमा सहभागी हुँदैनौँ भनेर कुटनीतिक पत्र पठाइसकेको जानकारी दिएको छ, त्यसो हुँदाहुँदै पनि आईपीएसमा प्रधानसेनापति भाग लिइराख्नु भएको छ । समितिको ध्यानाकर्षण त्यसमा भएको छ । परराष्ट्रमन्त्री ज्यूलाई केही काम अकस्मात् आइलाग्न सक्छ । तर रक्षा मन्त्रालयका सचिव, प्रधानसेनापतिलाई पत्र गरेका छौँ । किन आउनु भएन ? यो उपस्थिति नभइसकेपछि समितिको अधिकार क्षेत्र नै कमजोर उपस्थिति रह्यो कि भन्नेसम्म समितिलाई महसुस भएको छ । भोलिका दिन कुनै पनि नजिर किन नबसोस् भने समितिले निणर्य, निर्देशन, सुझाव दिन्छ, मन्त्रीको अकस्मात् काम हुँदा रक्षा मन्त्रालयको सचिव उपस्थित हुन पनि सकस हो भने समितिको मर्यादा के ? समितिलाई सरकारले हेर्ने दृष्टि के ?’

सभापति जैरुले २०७२ भदौ २४, २०७२ असोज १३ गते, कात्तिक १० गते, २०७४ वैशाख २१ गते, वैशाख २४ गते र २०७६ साउन २७ गते भएको एसपीपी सम्झौतासम्बन्धी दस्तावेज समितिले अध्ययनका लागि मागेको भन्दै उपलब्ध गराउन निर्देशन दिइन् । उनले आईपीएसको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भाग लिएकोबारे सरकारले जानकारी गराउनुपर्ने माग पनि गरिन् । समितिले आजको बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, प्रधानसेनापति लगायतलाई बोलाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना