नेभिगेशन
जीवनयापन

नेपालमा नेपाली नक्कली नोटको धन्दा फस्टाउँदो

काठमाडौँ – कुनै समयमा नेपालमा भारतीय नक्कली नोटको चर्चा परिचर्चा खुबै सुनिन्थ्यो । तर अहिले भारतीयसँगै नेपाली नक्कली नोटको चर्चा समेत चौतर्फी सुनिन थालेको छ । प्रहरीले पछिल्ला केही वर्षयता बरामद गरेको नक्कली नेपाली नोट र नोट छपाइ उपकरणले पनि नक्कली नोटको कारोबार बढेको पुष्टि हुन्छ । गत असार २७ प्रहरीले भक्तपुरको सूर्यविनायकबाट १ हजार दरका १३ थान नक्कली नेपाली नोटसहित एकजनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा भक्तपुरकै ३० वर्षीय निर्विकार प्रजापती थिए ।  यसअघि गत फागुन ४ गते प्रहरीले काठमाडौँको नयाँ बजारबाट २ लाख ९४ हजार नेपाली नक्कली नोट सहित चार जना पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद साह, मोहम्मद मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम थिए ।  त्यस अघि गत मंसिर १ मा महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने मेसिन र नोटसहित ५ जनालाई पक्रिएको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका गोमा श्रेष्ठ, पुष्पा थापा मगर, चिरञ्जीवी जोती, सुजन जोती र रामेछापका समरोज थापा मगर थिए । यी घटना त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । पछिल्लो दुई वर्षको अवधिमा प्रहरीले काठमाडौँबाट मात्र पटकपटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद गरिसकेको छ । प्रहरी प्रवक्ता डीआईजी टेक प्रसाद राईका अनुसार मुख्यगरी सिमा क्षेत्र, महानगर र धेरै भीड हुने ठाउँमा नक्कली नोट फेला पर्ने गरेका छन् । सबैभन्दा बढी एक सय, पाँच सय र हजारका नक्कली नोट भेटिने गरेका छन् ।  प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार प्रहरीले पछिल्लो पाँच वर्षको अवधिमा देशभरबाट ५० करोड भन्दा बढी नक्कली नेपाली नोट बरामद गरिसकेको छ ।  कहिले कति बरामद? प्रहरीका अनुसार विगतको इतिहास हेर्दा भारतीय नक्कली नोट नेपालमा फेला पर्ने गरेको भएपनि अहिले नक्कली नोट भेटिने क्रम बढेको छ । प्रहरी प्रवक्ता डीआईजी राईका अनुसार नेपालमा केही वर्षको विवरण हेर्दा अवैधरूप नक्कली नेपाली मुद्राको कारोबार भइरहेको देखिएको छ । उनले भने, ‘पहिले नेपालमा भारतलगायत विदेशी मुद्राका नक्कली नोटहरू भेटिने गरेपनि अहिले नेपाली नक्कली नोट भेटिन थालेका छन् ।’  सङ्गठित रूपमै सक्रिय गिरोह नेपालमा नक्कली नोट छाप्न सङ्गठित रुपमा नै गिरोह सक्रिय रहेको जानकारहरू बताउँछन् । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार काठमाडौंबाट अहिलेसम्म नक्कली नोटसहित पक्राउ परेका उदाहरण हेर्दा यसमा सङ्गठितरूपमै गिरोहहरूले सक्रिय छन् । मल्ल भन्छन्, ‘विशेष गरी महत्वकांक्षी युवाहरु सङ्गठित भएर नक्कली नोट छाप्नेदेखि कारोबार गर्नेसम्मको धन्दामा लागेका छन् । केही घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ ।’ उनका अनुसार नक्कली नेपाली रुपैयाँको बजार भनेको नेपालनै हो । कारोबारीहरूले मुख्य गरी भीडभाडमा किनमेल गर्दा तथा धेरै रुपैयाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ । मल्ल भन्छन्, ‘केही वर्षअघिसम्म भारतीय नक्कली नोटको बढी चर्चा हुन्थ्यो तर अहिले नेपाली नक्कली नोटको कारोबार बढेको छ । यो चुनौतीको विषय हो ।’ अझ नेपाली बजारमै नक्कली नोट छाप्ने कारखाना भेटिनुले झनै समस्या थपेको छ । यसतर्फ सुरक्षा संयन्त्रमात्र नभएर आम सर्वसाधारण पनि सचेत बन्नुपर्छ । कसरी चिन्ने नक्कली नोट? नेपाल राष्ट्र बैंकका अनुसार कुन नक्कली कुन सक्कली नोट हो भनेर चिन्ने विभिन्न तरिका हुन्छन् । सामान्यतया पैसा धेरै प्रयोग गर्ने बैंकका कर्मचारीले नक्कली नेट सजिलै थाहा पाउन सक्छन् । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोखरेल भन्छन्, ‘नक्कली नोट चिन्नका लागि सबैभन्दा पहिले कागज खस्रो छ कि सामान्य छ भनेर हेर्न सकिन्छ । कटकट गरेर नोटलाई भाँच्ने, पछाडिबाट लाइट बालेर पानीछाप हेर्ने, सक्कली नोट हो भने पछाडिबाट लाइट बालेर हेर्दा देखिन्छ । अगाडिबाट फोटोकपी गरेर जोडिएको छ भने, नक्कलीमा पछाडिबाट लाइट बाल्यो भने देखिँदैन’ पोखरेल भन्छन्, ‘हरेक नोटमा सगरमाथा हुन्छ, सगरमाथामा लाइट बालेर हेर्दा बल्यो भने त्यो सक्कली हो, बलेन भने त्यो नक्कली हो ।’ प्रवक्ता पोखरेलका अनुसार सामान्य खालको नक्कली नोट सर्वसाधारणले चिन्न सक्ने नै हुन्छ । पोखरेलले भने, ‘कतिपय अवस्थामा सर्वसाधारणले नक्कली नोट चिन्न सक्दैनन् । तर वित्तीय प्रणालीमा भित्रिएका नक्कली नोटहरू प्रायस् पहिचान हुने गरेका छन् ।’ उनका अनुसार ठूलो रकम नगदमा कारोबार नगरेर बैङ्किङ प्रणाली अपनाउँदा नक्कली नोटको खतराबाट बच्न सकिन्छ ।  के छ कानूनी व्यवस्था? मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन्छ । सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारबाही अगाडि बढाउँदै आएको छ ।   
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना