नेभिगेशन
जीवनयापन

आठ वर्ष बित्यो, जुरे पहिरोपीडितले पाएनन् राहत

सिन्धुपाल्चोक - जुरे पहिरो गएको आठ वर्ष पूरा भएको छ । तर उनीहरु अझै पनि राहतको प्रतिक्षामा छन् । आठ वर्षअघि, साउन १७ गते जुरे माथिको पहाड खस्दा जुरेका सिङ्गो बस्ती नै पुरिएर एक सय ४५ जनाको ज्यान गएको थियो भने सयौँ घरपरिवार विस्थापित बनेका थिए ।

पहिरो पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् भने उनीहरुले पीडा पनि भुल्न सकेका छैनन् । पहिरो पीडितका लागि देश-विदेशबाट सर्वसाधारण लगायतका दाताले दिएको दुई करोड २४ लाख राहत रकम आठ वर्ष बितिसक्दा समेत सरकारी खातामै अड्किएको छ ।

राहत रकमका लागि पटक पटक पहिरो पीडितहरु जिल्ला प्रशासन कार्यालयका साथै गृह मन्त्रालयसम्म पनि धाइरहे । अघिल्लो महिना मात्रै मन्त्रिपरिषद्को निणर्यबाट रकम फुकुवा भएसँगै पीडितहरुले रकम पाउने आशा पलाएको बलेफी गाउँपालिकाका रामबहादुर तामाङ बताउँछन् ।

पहिरो पीडितका लागि सङ्कलित रकमको खाता फुकुवा भएसँगै कुन मापदण्डअनुसार वितरण गर्ने भन्ने टुङ्गोमा पुग्न जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला तथा एसिडपीडितहरुसँग अबको बैठकमा छलफल गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनालले जानकारी दिए ।

विसं २०७१ साउन १७ गते तत्कालीन मांखा र राम्चे गाविसको सीमामा पहिरो जाँदा ३० घर पूणर् रुपमा नष्ट भएको थियो भने ५४ घरमा क्षति पुगेको थियो। तीनवटा स्थानीय तहमा ठूलो मानवीय र भौतिक क्षति भयो । अरनिको राजमार्ग पूणर् रुपमा लामो समय बन्द रह्यो । भोटेकोसी र सुनकोसी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त बनेको थियो ।

सुनकोसी नदी तटीय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेदेखि काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिकहरु लामो समय त्रासमा रहे । बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो । सानिमा हाइड्रो पावर र सुनकोसी हाइड्रो पावरको ड्याङसहित पावर हाउससम्म क्षति पुग्यो । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना