एजब्यास्टनमा कोहलीको भाग्य फेरिएला ? 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– विराट कोहली फेरि एक पटक त्यही एजब्यास्टन स्टेडियममा पुग्दै छन्, जहाँ उनले इङ्गल्यान्डमा आफ्नो पहिलो टेस्ट शतक बनाएका थिए । कुनै समय ‘रन मेसिन’ भनेर चिनिने विराटले सन् २०१९ पछि शतक प्रहार गर्न सकेका छैनन् ।

विराटका फ्यानहरुका लागि मात्र होइन क्रिकेटमा रुचि राख्नेका लागि पनि यो अचम्मलाग्दो कुरा हो । जुन खेलाडीलाई ‘रमाइलोको लागि पनि शतक हान्न सक्ने’ भनिन्थ्यो, उसैले शतक नहानेको ३ वर्ष हुनै लाग्यो ।

२०१९ नोभेम्बर २२ मा कोहलीले आफ्नो २७ औँ टेस्ट शतक, प्रतिष्ठित इडेन गार्डेनमा बङ्गलादेश विरुद्ध प्रहार गरेका थिए ।जसमा उनले १८ चौका सहित १९४ बलमा १३६ रन बनाएका थिए । यसो त विराटको खेल जीवनमा यस्ता धेरै उतारचडाव आएका छन् । तर समर्थकहरूका लागि आशालाग्दो कुरा के छ भने विराट जुझारु छन् र राम्रो परिणामका लागि हदैसम्म प्रयास गर्छन् । विगतमा जब जब उनी नराम्रो खेल अवस्थाबाट गुज्रिरहेको थिए, तब तब उनले ‘कमब्याक’ पनि अविश्वसनीय किसिमले गरेका छन् ।

सन् २०१४ मा इन्डियन टिमले बेलायत भ्रमण गरेको थियो । त्यो बेला पाँच टेस्ट म्याच खेल्दा विराटले आफ्नो सबैभन्दा उच्च स्कोरका रूपमा ३९ रन बनाएका थिए । त्यो उनको एउटा नराम्रो खेल समय मध्येको थियो । तर, फेरि ४ वर्ष पछि इन्डियन टिम इङ्गल्यान्ड जाँदा उनी २ शतक ३ अर्धशतकसहित ५९३ रन बनाउँदै म्यान अफ द सिरिज भएका थिए । विराटले इङ्गल्यान्डको भूमिमा सन् २०१८ मा एजब्यास्टनमै आफ्नो पहिलो शतक हानेका थिए । त्यसपछि उनी निकै ‘फर्म’मा आएको मानिन्छ । उनी अब फेरि त्यही मैदानमा खेल्न लागिरहेका छन् । संयोग नै भनौँ,उनी अहिले आफ्नो खेल जीवनको सबैभन्दा खराब समयमा छन् ।

के आज एजब्यास्टनमा विराटको भाग्यले नयाँ मौका पाउला त ? धेरैको प्रश्न र चासोको विषय यही छ । यसका लागि भारतीय क्रिकेट टिमले पछिल्लो पटक इङ्गल्यान्डमा के गरेको थियो भन्ने जानकारी रोचक हुन सक्छ ।

भारतीय क्रिकेट टोलीले अगस्ट र सेप्टेम्बर २०२१ मा पाँच टेस्ट म्याच खेल्न इङ्गल्यान्डको भ्रमण गरेको थियो । पहिलो टेस्ट, दुई दिनभन्दा बढी समयको खेल वर्षाले प्रभावित भएपछि खेल बराबरीमा टुङ्गिएको थियो । दोस्रो टेस्ट, भारतले पाँचौँ दिनको अन्तिम घण्टामा १५१ रनले जितेर १–० को अग्रता लिएको थियो । तेस्रो टेस्ट, इंग्ल्यान्डले चौथो दिन लञ्च ब्रेकअघि खेल एक इनिङ्स र ७६ रनले जितेर शृङ्खला १–१ को बराबरी गरेको थियो । चौथो टेस्ट, १ सय ५७ रनले जित्दै भारतले एक खेल खेल्न बाँकी रहेको सिरिजमा २–१ को अग्रता बनाएको थियो । पाँचौ टेस्टको निर्धारित सुरुवातको बिहान दुवै क्रिकेट बोर्डहरूले भारतीय टोलीमा कोभिड १९ देखिएको कारण खेल सुरु नहुने पुष्टि गरे । त्यसपछि इङ्गल्यान्ड क्रिकेट बोर्डले विज्ञप्ति जारी गर्दै भन्यो, ‘टेस्ट म्याच रद्द गरिएको छ ।’ सिरिजको नतिजाबारे स्पष्टीकरण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र म्याच रेफ्री क्रिस ब्रोडलाई पठाइएको थियो । बीसीसीआईले विज्ञप्ति जारी गर्दै खेलको समय तालिका तय गर्ने उद्देश्यका साथ ईसीबीसँग काम गरिरहेको बताएको थियो ।

आईसीसीले उक्त खेल रद्द भएको मानेको खण्डमा भारतले शृङ्खला २–१ ले जित्ने थियो तर खेल रद्द भएको नमानेर भारतले खेलाडि मैदानमा उतार्न नसकेको मानेमा शृङ्खला २–२ को बराबरीमा सकिने थियो ।

त्यसको केहि दिन पछि इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले भारतले २०२२ मा इङ्गल्यान्डसँगको ‘लिमिटेड ओभर’को शृङ्खला खेल्न आउँदा बाँकी रहेको एक मात्र टेस्ट पनि खेल्ने जानकारी दियो । सिरिजको बाँकी रहेको त्यही एउटा टेस्ट ४ बर्ष अघि बिराएको भाग्य फेरेको स्टेडियम एजब्यास्टनमा हुन गइरहेको छ । ४ खेल खेल्दा कप्तान रहेका विराट अहिले भने भारतीय टिमका एक खेलाडीका रूपमा मात्र खेल्दै छन् ।

विराटले टेस्ट कप्तानबाट सन्न्यास लिएपछि भारतको कप्तान रोहित शर्मा रहेका थिए । तर रोहितलाई कोरोना भएको कारण उनी अहिले आइसोलेसनमा छन् उनले खेल गुमाउने सम्भावना धेरै रहेको छ । रोहित खेलेनन् भने कप्तान को हुन्छ ? भन्ने धेरैको प्रश्न थियो । टेस्ट सुरु हुनु भन्दा एक दिन अगाडि जसप्रित बुमराहलाई भारतीय टिमको कप्तान बनाइएको छ । योसँगै विराट नै फेरी कप्तान हुन सक्छन् भन्ने अनुमान सकिएको छ । त्यससँगै विराटले कप्तानको रूपमा सुरु गरेको सिरिज फेरि पनि उनले नै कप्तानी गरेर जितुन् भन्ने धेरैको इच्छाको पनि अन्त्य भएको छ । तर खेलाडीका रूपमा पनि विराट विराटले गर्न सक्ने धेरै कुराहरू छन् ।

भारतले इङ्गल्यान्डसँग एउटा बाँकी रहेको टेस्ट म्याच खेलेपछि तीन दिवसीय र तीन टी–ट्वान्टी खेल खेल्ने छ । त्यसपछि अरू देशहरूसँग धेरै जसो टी– ट्वान्टी खेल्ने तालिका छ । अक्टोबर र नोभेम्बर २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपलाई मध्यनजर गरेर यो तालिका बनाइएको हो भन्ने सजिलै बुझ्न सकिन्छ ।

आईपीएलमा निकै खराब प्रदर्शन गरेको कारण बिराएको चौतर्फी आलोचना भइरहेको छ । कति पुराना खेलाडी र खेल विशेषज्ञले यस्तो खराब अवस्थामा रहेका विराटलाई टी–ट्वान्टी विश्वकपमा ठाउँ दिनु हुँदैन सम्म भनेका छन् । त्यसैले बिराएको लागि यो एजब्यास्टनको खेल निकै महत्त्वपूर्ण छ । उनमा आफ्नो ‘फर्म’ फेरि हासिल गरेर टी ट्वान्टी विश्वकपमा भारतीय टिमलाई जिताउनु पर्ने जिम्मेवारी पनि रहेको छ ।

सन् २०१६ र २०१८ को टी–ट्वान्टी विश्वकपको म्यान अफ द सिरिज भएको खेलाडीले आफू को हुँ भनेर पुनः प्रमाणित गरी देखाउने दिन आएको छ । कोहलीले ३० बर्षको उमेरमै ७० वटा शतक हानिसकेको आफू एक सामान्य खेलाडी मात्र हैन भन्ने कुरा फेरि सारा विश्वलाई देखाउनु पर्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५७
प्रतिक्रिया दिनुहोस्