विश्वकप लिग टु : नेपालले आज ओमानसँग खेल्दै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो खेल खेल्दैछ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ ।

यस्तै नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

किनकी ओमानविरुद्धको पछिल्लो ५ भेटमा नेपालले एक पटक मात्र जित निकालेको छ । यस्तै ओमान पनि नेपाललाई हराउँदै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।

ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा छ ।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ । शनिबार भएको खेलमा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:३२
प्रतिक्रिया दिनुहोस्